गणेश नेपालीजस्तो घटना दोहोरिन नदिन सरकार सचेत बनोस् : शंकर पोखरेल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको समस्याप्रति सरकार गम्भीर र संवेदनशील बन्नुपर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुरक्षित बनाउने नाममा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले भोगिरहेको पीडा अत्यन्तै गम्भीर, हृदयविदारक र संवेदनशील रहेको बताएका हुन् ।

पोखरेलले सरकारले विस्थापित नागरिकहरूको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै होल्डिङ सेन्टरसमेत व्यवस्थित रूपमा सञ्चालन गर्न नसकेको बताएका छन् । उनका अनुसार आश्रयमा राखिएका नागरिकले गाँस, बास र पानीको समेत अभाव झेल्नुपरेको अवस्था छ ।

उनले एकातिर सुकुमासी बस्ती हटाउने र अर्कोतर्फ सरकारले आफैं स्थापना गरेका होल्डिङ सेन्टरसमेत राम्रोसँग सञ्चालन गर्न नसक्ने अवस्था देखिएको टिप्पणी गरेका छन् । होल्डिङ सेन्टर खाली गर्न लगाइनु, त्यहाँ आश्रित नागरिकलाई गाँस र पानीसमेत नपुग्नु तथा सुरक्षित भनिएका होल्डिङ सेन्टर नै डुबानमा परेको खबर आउनु अमानवीय भएको उनको भनाइ छ ।

पोखरेलले असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुम्वासीलाई हटाउनुअघि उनीहरूको उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएको बताए । तर सरकारले त्यसमा असफल भएको भन्दै सुकुम्वासी बस्ती खाली गराउनु मात्र उपलब्धि मान्न नमिल्ने उनको भनाइ छ ।

उनले अहिले विस्थापित सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्था झन् कठिन बन्दै गएको उल्लेख गर्दै सरकारले आफ्ना कमजोरी सच्याएर उनीहरूको न्यायोचित व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् ।

पोखरेलले नागरिकलाई त्रास र सास्ती दिएर होइन, सुरक्षित आवास र बाँच्न पाउने अधिकारको सम्मान गरेर मात्रै कानुनी राज्यको मर्यादा कायम रहने बताए । साथै, गणेश नेपालीको घटनाजस्तै अर्को कुनै अप्रिय घटना दोहोरिन नदिन सरकार समयमै सचेत हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?