गणेशको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि आत्मदाहको प्रयास, काठमाडौं ल्याइँदै

लोकपथ
1.2k
Shares

काठमाडौं । बिहीबार गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा त्यस्तै प्रकृतिको अर्को घटना घटेको छ ।

सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन् ।

शुक्रबार दिउँसो साढे २ बजेको समयमा मण्डलले पेट्रोल छर्किएर आफ्नो शरिरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले लोकपथलाई जानकारी दिए ।

‘उहाँले घरभन्दा २ सयमिटरको दुरिमा पेट्रोल छर्किएर आफ्नो शरिरमा आगो लगाउनुभएको खबर प्राप्त हुनासाथ प्रहरीले उहाँको उद्धार गरी अस्पताल पुर्‍याएको थियो,’ गौतमले लोकपथसँग भने ।

उनको मलंगवा प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । डीएसपी गौतमका अनुसार हालसम्म उनी बोल्न सक्ने अवस्थामा रहेको र थप उपचारका लागि काठमाडौं ल्याउने तयारी रहेको छ ।

‘उहाँलाई मलंगवा अस्पतालमा उपचारका लागि लगिएको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । उहाँलाई आवश्यक समन्वय गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ,’ उनले भने ।

के कारणले उनले आत्मदाहको प्रयास गरे भन्ने खुल्न नसकेको र अनुसन्धान अघि बढाइएको डीएसपी गौतमको भनाइ रहेको छ ।

त्यसो त बिहीबार (हिजो) मुगुका २६ वर्षीय गणेश नेपालीले काठमाडौंमा आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारको क्रममा शुक्रबार (आज) निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?