दैलेख बस दुर्घटना : थप दुई शव फेला, मृतकको संख्या तीन पुग्यो

लोकपथ
196
Shares

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली नदीमा फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ । यससँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बिहीबार साँझ फेला परेका दुई शव आफन्तले घटनास्थलमै पुगेर सनाखत गरी बुझिसकेका छन् ।

मृतकको पहिचान कालिकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्काका रूपमा भएको छ । यसअघि सोही दुर्घटनामा भिरमा फेला परेको शव पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको रहेको पुष्टि भइसकेको थियो ।

दुर्घटनामा सवारी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, उनका सहोदर भाइ तथा सहचालक रामु सुवेदीसहित अन्य यात्रु अझै बेपत्ता छन् । बेपत्ता दाजुभाइका काका दिल्ली सुवेदीले परिवारका मुख्य सहारा नै दुर्घटनामा परेकाले परिवार, आफन्त र गाउँ नै शोकमा डुबेको बताए ।

गत बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायले नदी तथा आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?