काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता लिनुमा कुनै राजनीतिक लेनदेन वा मन्त्री बन्ने सहमति नभएको स्पष्ट पारे ।
पार्टीको प्रथम महाधिवेशनमा संस्थापक महामन्त्रीका रूपमा आफ्नो दाबी स्वाभाविक भए पनि अन्य आकांक्षीहरू रहेकाले पार्टीलाई एकढिक्का बनाउन त्याग गरेको उनको भनाइ छ । अहिले आफू पूर्ण रूपमा पार्टी निर्माण र संगठन विस्तारमा केन्द्रित रहेको उनले बताए ।
‘पार्टी वृहत् बनोस् र देश निर्माणमा प्रभावकारी भूमिका खेलोस् भन्ने निस्वार्थ उद्देश्यले उम्मेदवारी फिर्ता लिएको हुँ । मन्त्री बन्ने सर्तमा सम्झौता भएको भन्ने कुरा केवल हल्ला हो, त्यसमा कुनै सत्यता छैन,’ उनले भने ।
संसद्मा भएको अमर्यादित गतिविधि र छानबिन प्रतिवेदनबारे प्रतिक्रिया दिँदै बुर्लाकोटीले सदन मर्यादित ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । प्रतिवेदनको विस्तृत अध्ययन नगरे पनि संसद्को मर्यादा विपरीतका गतिविधिमा कानुन र नियमावलीअनुसार कारबाही हुनुपर्ने उनको धारणा थियो ।
सुकुम्बासी समस्याका विषयमा उनले सरकारले यसलाई गम्भीर रूपमा लिएको र समाधानका लागि प्रयास गरिरहेको बताए । पूर्वतयारीमा केही कमजोरी देखिए पनि सरकारको १०० दिने उपलब्धिमा यसलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ थियो ।
रास्वपाको विधानमा संसदीय दलको नेता फिर्ता बोलाउन सक्ने व्यवस्थाबारे उनले पार्टी सभापतिलाई विधानको संरक्षकका रूपमा राखिएको र पार्टीको नीति तथा निर्देशनभन्दा बाहिर कोही जान नपाउने मान्यताअनुसार नै उक्त व्यवस्था गरिएको स्पष्ट पारे ।
यातायात व्यवस्थापन तथा ‘ब्लु बस’ अवधारणाबारे बोल्दै बुर्लाकोटीले यो केवल चुनावी एजेन्डा नभई नागरिक र राष्ट्रहित केन्द्रित कार्यक्रम भएको बताए । महिलामैत्री सार्वजनिक यातायातका लागि ब्लु बसको अवधारणा ल्याइएको र त्यसलाई कार्यान्वयन गर्न आवश्यक कार्यविधि तयार भइरहेको उनले जानकारी दिए ।
उनले गोरखालगायत दुर्गम क्षेत्रसम्म सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने नीति सरकारले अघि बढाइरहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया