संविधान संशोधनअघि उद्देश्य र प्राथमिकता स्पष्ट हुनुपर्छ : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र समाधान गर्नुपर्ने समस्या नै पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले सरकारले गठन गरेको संविधान संशोधन कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि समेत प्रश्न उठाए ।

उनले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीडा र हजारौं नागरिकको बलिदानबाट प्राप्त उपलब्धिलाई बेवास्ता गर्दै संशोधनको बहस अघि बढाउन खोजिएको टिप्पणी गरे ।

थापाले सरकारले संविधान संशोधन किन आवश्यक परेको हो र कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजिएको हो भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको बताए । संविधानका सम्पूर्ण विषयलाई एकैपटक बहसमा ल्याउँदा अप्रत्याशित संवैधानिक तथा कानुनी जटिलता सिर्जना हुने र राजनीतिक ध्रुवीकरण बढ्न सक्ने उनको भनाइ थियो ।

उनले नेपालले लामो राजनीतिक द्वन्द्व पार गर्दै संविधानसभामार्फत संविधान निर्माण गरेको स्मरण गराउँदै त्यस प्रक्रियासँग जोडिएका बलिदान र संवेदनालाई हल्का रूपमा लिन नहुने बताए ।

थापाले भने, ‘नेपाल कुन राजनीतिक द्वन्द्वबाट गुज्रेर यहाँसम्म आएको हो र संविधानसभाले कसरी संविधान बनाएको हो भन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । १७–१८ हजार मानिसको ज्यान गएको विषयलाई एक हरफमा सीमित गर्न सकिँदैन । प्रत्येक मृतकसँग एउटा परिवार र संवेदना जोडिएको छ । ती सबै कुरा बिर्सिएर हतारमा संविधान संशोधनतर्फ जानु चिन्ताजनक हुन्छ ।’

उनले हचुवाका भरमा संविधान संशोधनको ढोका खोलिए समाज र राज्यलाई जोडेर राख्ने आधारहरू कमजोर हुने तथा समग्र शासन व्यवस्थामै अस्थिरता आउन सक्ने चेतावनी दिए ।

सभापति थापाले संविधान संशोधनको विषयमा गम्भीर, जिम्मेवार र सहमतिमा आधारित बहस आवश्यक रहेको उल्लेख गर्दै यस प्रक्रियाले मुलुकको राजनीतिक स्थिरतालाई कुनै पनि हालतमा खलबल्याउन नहुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?