संसदीय सुनुवाइ प्रभावकारी नभएसम्म संवैधानिक संस्थाको स्वायत्तता सम्भव छैन : अर्जुननरसिंह केसी

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावमा परेको आरोप लगाउँदै संसदीय सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइसम्बन्धी छलफलका लागि बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावबाट मुक्त हुन नसकेको टिप्पणी गरे । उनले संवैधानिक संस्थाको वास्तविक स्वायत्तता सुनिश्चित नभएसम्म सुनुवाइ प्रक्रिया परिणाममुखी हुन नसक्ने बताए ।

उनले योग्य, सक्षम र स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्ने वातावरण निर्माण गर्न नसकिए संसदीय सुनुवाइ केवल औपचारिकतामा सीमित हुने धारणा राखे । आफ्नो लामो संसदीय अनुभव स्मरण गर्दै उनले हालसम्म संसदीय सुनुवाइ समितिबाट अत्यन्तै कम नियुक्ति मात्रै अस्वीकृत भएको उल्लेख गरे । उनका अनुसार एक जना प्रधानन्यायाधीश र एक जना राजदूतबाहेक अधिकांश नियुक्ति प्रभावकारी परीक्षणबिनै अनुमोदन हुँदै आएको छ ।

सांसद केसीले प्रस्तावित पदाधिकारीविरुद्ध जनस्तरबाट आउने उजुरी तथा सुझाव संकलन गर्ने संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । आवश्यक परे सुनुवाइका लागि थप समय दिएर प्राप्त उजुरी र सूचनाको निष्पक्ष अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले संवैधानिक निकाय तथा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा उनीहरूको व्यक्तिगत योग्यता मात्र होइन, सम्बन्धित संस्थाको सुधार र विकासका लागि स्पष्ट कार्ययोजना पनि सार्वजनिक गर्नुपर्ने माग गरे। यसबाट नियुक्त व्यक्तिको प्रतिबद्धता, कार्यदिशा र क्षमता मूल्यांकन गर्न सहज हुने उनको भनाइ थियो ।

बैठकमा बोल्दै केसीले संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको ‘लाचार छाया’ बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै वास्तविक स्वायत्तता र जवाफदेहितामार्फत मात्रै ती संस्थाले प्रभावकारी रूपमा काम गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?