काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।
पार्टीका अध्यक्ष कुलमान घिसिङले बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा प्रवाह, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ ।
स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना तथा नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको धारणा छ । गैरदलीय निर्वाचन प्रणालीले स्थानीय तहको नेतृत्वलाई जनताको आवश्यकता र विकासका प्राथमिकताप्रति थप उत्तरदायी बनाउन सहयोग पुग्ने पार्टीको अपेक्षा रहेको छ ।
त्यस्तै, गैरदलीय स्थानीय निर्वाचनको विषय सार्वजनिक बहस र राजनीतिक प्रतिबद्धताका रूपमा अघि बढिसकेको उल्लेख गर्दै पार्टीले यसलाई नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रियामा लैजानुपर्नेमा जोड दिएको छ ।
पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रको माग छ ।
उज्यालो नेपाल पार्टीले स्थानीय तहको निर्वाचन प्रणालीमा सुधार तथा विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने विषयलाई निर्वाचन आयोगले प्राथमिकताका साथ अघि बढाउनुपर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया