काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट सुविधासहितको ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ ।
बैंकले ९० दिनका लागि लक्षित उक्त योजनाअन्तर्गत न्यून ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कमा घर कर्जा उपलब्ध गराउने जनाएको छ ।
बैंकका अनुसार उक्त योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । आधार दरमा ०.५० प्रतिशत प्रिमियम ब्याजदरबाट सुरु हुने यस कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ । कर्जामा बैंकले ०.२५ प्रतिशत मात्र सेवा शुल्क लिने जनाएको छ ।
योजनाअन्तर्गत घर कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकले यो विशेष आवास कर्जा योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म ९० दिनका लागि सञ्चालन गर्ने जनाएको छ । बैंकले आफ्नो ९०औँ वार्षिकोत्सवलाई लक्षित गर्दै ग्राहकलाई आवाससम्बन्धी आवश्यकता पूरा गर्न सहज र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको हो ।
नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया