मकवानपुरमा ‘सरकारी सेवा घरघर’ अभियान प्रभावकारी, करिब २०० राहदानी घरमै वितरण

लोकपथ
21
Shares

काठमाडौं । सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ ।

नागरिकमैत्री सेवा प्रवाह गर्दै सरकारप्रति नागरिकको विश्वास र भरोसा बढाउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत हुलाक सेवामार्फत हालसम्म मकवानपुरमा करिब २०० जनाको राहदानी घरमै पुर्‍याइएको छ ।

जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेका अनुसार घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमै हुलाक सेवाका कर्मचारीमार्फत पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम प्रयोग गरी ५५ रुपैयाँ शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

उनका अनुसार राहदानी विभागबाट राहदानी प्राप्त भएपछि हुलाक कार्यालयका कर्मचारीले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्ने गरेका छन् । यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हट्नुका साथै समय र खर्चसमेत बचत भएको छ ।

सरकारले शासकीय सुधारलाई प्रभावकारी बनाउन २०८२ चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सयदिने कार्यसूची स्वीकृत गरेको थियो ।

सो कार्यसूचीको २७औँ बुँदा अनुसार हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने तथा राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात र सामग्री नागरिकको घरमै पुर्‍याउने व्यवस्था लागू गर्ने लक्ष्य राखिएको छ ।

मकवानपुरमा अभियानको सकारात्मक प्रभाव देखिन थालेसँगै सरकारी सेवा प्रवाहलाई थप सहज, छरितो र नागरिकमैत्री बनाउने सरकारको प्रयासले गति लिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?