धरानको बीपी प्रतिष्ठानबाट १० विचौलिया पक्राउ, बिरामी ठगीमा संलग्न भएको आरोप

लोकपथ
7
Shares

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गर्ने आरोपमा प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेका अनुसार विशेष सूचनाका आधारमा गए राति प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले विचौलिया गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की रविना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, धरान–१५ का सागर पोखरेल, मोरङको लेटाङ–३ का साबिन किराँती, धरान–६ का मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी–५ का उमेशकुमार चौधरी, धरान–१७ का धिरोज निरौला, सुनसरीको इनरुवा–२ का रोहित मेहता र धरान–११ का विनोद भट्टराई रहेका छन् ।

यसअघि पनि प्रहरीले असार २२ गते झापाको दमक–१ का प्रविण पोखरेल र सुनसरीको हरिनगरा–४ का २७ वर्षीय दीपकरामलाई यस्तै आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले असार २१ गते प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने विचौलिया गतिविधि, अनियमितता तथा बिरामीमाथिको ठगी नियन्त्रण गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई कडा निर्देशन दिएका थिए ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?