फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न मिल्दैन : महावीर पुन

लोकपथ
42
Shares

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था विधि विज्ञान प्रयोगशाला विधेयकमा समावेश गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले व्यक्तिको गोपनीयताको संरक्षणका लागि फरेन्सिक परीक्षण तथा प्रयोगशालाको प्रतिवेदन सार्वजनिक डोमेनमा राख्ने प्रस्तावित व्यवस्था हटाउनुपर्ने धारणा राखेका हुन् ।

उनले विधेयक फरेन्सिक परीक्षणको गुणस्तर, विश्वसनीयता र वैज्ञानिक मापदण्डलाई संस्थागत गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारे ।

उनका अनुसार विभिन्न आपराधिक घटनामा घटनास्थलबाट संकलित नमुनाको वैज्ञानिक परीक्षण गरी सम्बन्धित निकाय तथा अदालतलाई प्रमाण उपलब्ध गराउन यो विधेयक प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले फरेन्सिक प्रयोगशालाको मुख्य काम आपराधिक घटनासँग सम्बन्धित नमुनाको वैज्ञानिक परीक्षण गरी प्रमाण उपलब्ध गराउनु भएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी वा व्यक्तिगत प्रकृतिका प्रतिवेदन सार्वजनिक गर्नु उपयुक्त नहुने बताए ।

उनले आवश्यक परे अनुसन्धान वा अध्ययनका लागि सम्बन्धित निकायलाई मात्रै आवश्यक विवरण उपलब्ध गराउन सकिने, तर सार्वजनिक रूपमा प्रतिवेदन राख्ने व्यवस्था उपयुक्त नहुने धारणा व्यक्त गरे ।

मन्त्री पुनले विधेयकमाथिको दफावार छलफल छिट्टै टुंग्याएर यथाशीघ्र पारित गर्ने गरी समितिलाई प्रक्रिया अघि बढाउन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?