सरकारको मूल्याङ्कन अब परिणामका आधारमा हुनुपर्छ : अर्जुननरसिंह केसी

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अब सरकारले गरेका कामका आधारमा मात्रै मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सोमबार प्रतिनिधिसभाको विशेष समयमा व्यक्त गरेको धारणा सार्वजनिक गर्दै उनले सरकार गठन भएको सय दिनभन्दा बढी भइसकेकाले अब आश्वासन र प्रचार होइन, परिणाम र उपलब्धि हेर्ने समय आएको बताए ।

केसीले जेठ १७ गते प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले संवैधानिक र संसदीय प्रश्न उठाएको बताए ।

प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत मात्र नभई सरकारको आधिकारिक धारणा पनि हुने भएकाले त्यसप्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे करिब पाँच हप्ता बितिसक्दा पनि संसदमा आएर स्पष्टिकरण नदिएको भन्दै आलोचना गरे । यसले संसद र जनप्रतिनिधिप्रति बेवास्ता भएको उनको आरोप थियो ।

संसद अवरुद्ध हुँदा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विकास, जनजीविका र जनताका समस्या उठाउने अवसरसमेत गुमाएको केसीले बताए ।

उनले संसद सरकार बनाउने, नियन्त्रण गर्ने र आवश्यक परे सरकार परिवर्तनसमेत गर्न सक्ने सर्वोच्च संस्था भएकाले यसको गरिमामा आँच पुग्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताए ।

केसीले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टिकरण दिन, आवश्यक परे सच्याउन वा फिर्ता लिन राजनीतिक साहस देखाउनुपर्ने माग गरे ।

उनले संसदको अपमान प्रतिपक्षको मात्र नभई सम्पूर्ण संसद, सभामुख र सार्वभौम जनताको अपमान भएको बताए ।

साथै, सभामुखलाई प्रधानमन्त्रीलाई संसदमा बोलाएर जवाफ दिन निर्देशन दिन र विवादित अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउने पहल गर्न आग्रह गरे ।

केसीले लोकतन्त्रमा संसदको मर्यादा र सर्वोच्चता जोगाउनु सबैको साझा जिम्मेवारी भएको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?