रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ– ‘म विकास र समृद्धिकै खोजीमा छु’

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्दै सहकार्य गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान तथा प्रविधिमा आधारित ज्ञान सीपलाई देशको स्रोत–साधनसँग जोडेर प्रभावकारी रूपमा उपयोग गर्न सके मात्रै समृद्धि सम्भव हुने बताए ।

भट्टराईले पछिल्लो समय आफू राष्ट्रिय स्वतन्त्र पार्टीसँग किन निकट भएको भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै आफूले पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्न सहयोग गरिरहेको स्पष्ट पारे ।

उनले देशको विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर नयाँ पुस्तालाई साथ दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ। मैले ५० वर्षदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई अघि बढाउन खोजेको हो। हाम्रो पुस्ताले नयाँ पुस्तालाई ज्ञान र सीप हस्तान्तरण गर्नुपर्छ । उहाँहरूसँग रहेको प्रविधिमा आधारित ज्ञानलाई मुलुकको स्रोत–साधनसँग जोडेर प्रयोग गर्न सकियो भने मात्रै देश समृद्ध बन्छ। पार्टीगत सोचभन्दा माथि उठेर सबैले सहयोग गर्नुपर्छ।’

भट्टराईले विज्ञान र प्रविधिको वर्तमान युगमा राजनीतिक अधिकारका लागि बनेका परम्परागत राजनीतिक संगठन मात्रै पर्याप्त नहुने दाबी गर्दै नयाँ सोच, नयाँ प्रविधि र नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?