काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेका ४२ प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् ।
आइतबार सार्वजनिक गरिएको प्रगति विवरणमा शिक्षा प्रशासन, परीक्षा प्रणाली, विश्वविद्यालय सुधार तथा सेवा प्रवाहमा विभिन्न सुधारका काम अघि बढाइएको उल्लेख छ ।
मन्त्रालयका अनुसार अब माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र र विश्वविद्यालय तहको नतिजा ६५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था लागू गरिएको छ। यसले विद्यार्थीले नतिजाका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने मन्त्रालयको विश्वास छ ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरण सेवा उपलब्ध गराउन थालिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जेन्जी आन्दोलनबाट प्रभावित परिवार तथा नागरिकका लागि सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने, सीप विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना कार्यक्रम पनि सुरु गरेको जनाएको छ ।
विश्वविद्यालय सुधारका लागि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्तिसम्बन्धी प्रतिवेदन–२०८१ कार्यान्वयन सुरु गरिएको छ । साथै नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउट, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित विभिन्न कार्यदलका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।
शिक्षा क्षेत्रमा दलीय प्रभाव कम गर्न विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनलाई भवन तथा जग्गा उपलब्ध नगराउने नीति लागू गरिएको मन्त्रालयले जनाएको छ । साथै, विश्वविद्यालय परिसरमा रहेका राजनीतिक दलसँग सम्बन्धित भौतिक संकेत तथा चिन्ह हटाउने काम पनि अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया