काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेस गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या अध्ययन र अनुसन्धानमार्फत पहिचान गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।
उनले विश्वविद्यालयहरू पढ्ने र पढाउने कार्यमा मात्र सीमित हुन नहुने बताए । सम्बन्धित क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न विश्वविद्यालयहरूले अनुसन्धानात्मक कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको मन्त्री पोखरेलले बताए । उनले नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको जानकारी दिए ।
मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए । मधेसमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन नसक्नुका कारण पहिचान गरी त्यसको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
‘अहिले शिक्षा ऐन निर्माणको क्रममा रहेको छ । मधेस प्रदेशमा शिक्षा क्षेत्रमा रहेका समस्याहरूको खोज र अध्ययनमार्फत पहिचान गरी मन्त्रालयमा पेस गर्न राजर्षी जनक विश्वविद्यालयलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
मन्त्री पोखरेलले राजर्षी जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै धेरै काम गर्नुपर्ने बताए । मधेसका विद्यार्थी इन्जिनियरिङलगायत उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्न विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया