नेपालले चीनको प्रगतिबाट अधिकतम लाभ लिनुपर्छ : विपिन आचार्य

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले छिमेकी राष्ट्र चीनको विकास र समृद्धि नेपालका लागि अवसर भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले विगत एक शताब्दीमा चीनलाई संकटबाट समृद्धितर्फ डोर्‍याएको अनुभव विश्वकै लागि प्रेरणादायी रहेको बताए ।

आचार्यले नेपाल चीन सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नभई कलाकार अरनिकोको समयदेखि नै सांस्कृतिक, ऐतिहासिक र भावनात्मक रूपमा गहिरो रहेको उल्लेख गरे । दुई देशबीचको सम्बन्ध पारिवारिक र प्रगाढ रहेको भन्दै उनले आगामी दिनमा रास्वपा र सीपीसीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

उनले सक्षम, दूरदर्शी र समर्पित राजनीतिक दलले देशलाई प्रतिकूल अवस्थाबाट समृद्धितर्फ लैजान सक्ने उदाहरण चीनले प्रस्तुत गरेको उल्लेख गर्दै नयाँ राजनीतिक दलका रूपमा रास्वपाले सीपीसीको विकास यात्राबाट धेरै कुरा सिक्न सक्ने बताए ।

आचार्यले भने, ‘हाम्रा विचारधारा फरक हुन सक्छन्, तर जनताको सेवा नै राजनीतिक दलको मूल उद्देश्य हो। यही साझा मान्यताले देशको समृद्धिको आधार तयार गर्छ। छिमेकी देश समृद्ध हुँदा त्यसको प्रत्यक्ष र परोक्ष लाभ नेपाललाई पनि पुग्छ ।’

उनले समृद्ध छिमेकी चीनसँग प्रविधि हस्तान्तरण, पूर्वाधार विकास, जैविक प्रविधि (बायोटेक्नोलोजी) लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सीपीसी र रास्वपाबीच राजनीतिक विचारधारा तथा शासन प्रणालीमा भिन्नता भए पनि दुवैको साझा लक्ष्य जनहित र राष्ट्रिय विकास रहेको स्पष्ट पार्दै उनले नेपाल अहिले विकासको महत्वपूर्ण मोडमा रहेको उल्लेख गरे ।

छिमेकी मुलुकहरूको प्रगतिबाट अधिकतम लाभ उठाउँदै नेपाललाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?