काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर ‘ज्ञानेन्द्र’ शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको सट्टा नेपाली यथार्थमा आधारित मौलिक विकास मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन् ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विकास कुनै देशबाट आयात गर्न सकिने विषय नभएको उल्लेख गरे । अन्य मुलुकमा सफल भएका विकासका मोडेल नेपालका भौगोलिक, सामाजिक र आर्थिक परिवेशमा जस्ताको तस्तै लागू गर्न नसकिने उनको भनाइ थियो ।
शाहीले नेपालको सबैभन्दा ठूलो समस्या सम्भावनाको अभाव नभई कार्यान्वयनको कमजोरी रहेको बताए । प्राकृतिक स्रोत, जलस्रोत र दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक भौगोलिक अवस्थाजस्ता अवसर हुँदाहुँदै पनि देशले अपेक्षित विकास गर्न नसकेको उनले उल्लेख गरे ।
उनका अनुसार रोजगारी र अवसरको अभावका कारण दैनिक रूपमा ठूलो संख्यामा नेपाली युवाहरू विदेशिन बाध्य भएका छन् । ‘आज नेपालको सबैभन्दा ठूलो निर्यात वस्तु होइन, मानव स्रोत बन्दै गएको छ,‘भन्दै उनले दक्ष जनशक्ति पलायनले दीर्घकालीन आर्थिक रूपान्तरणमा असर पुर्याएको बताए ।
आर्थिक समृद्धिका लागि स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको अधिकतम उपयोग तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पूर्वाधारमा दीर्घकालीन र संरचनात्मक लगानी आवश्यक रहेको उनले बताए ।
नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै शाहीले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित रहेको बताए। आर्थिक रूपमा आत्मनिर्भर, शक्तिशाली र स्थिर नेपाल नै क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिको बलियो आधार हुने उनको भनाइ थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक यात्राबाट नेपालले सुशासन, विधिको शासन र प्रभावकारी कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण पाठ सिक्न सक्ने उनको धारणा थियो ।
नेपालको वर्तमान राजनीतिक प्रवृत्तिको आलोचना गर्दै शाहीले राजनीतिक नियुक्तिमा अझै पनि दलीय भागबण्डा र कार्यकर्ता भर्तीको पुरानो संस्कार कायम रहेको बताए । पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको र विधिको शासन पूर्ण रूपमा स्थापित हुन नसकेको उल्लेख गर्दै उनले यस्तो परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया