काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकाहरुलाई समेत पार्टी सदस्यता बनाउने भन्ने उल्लेख थियो ।
उक्त प्रतिवेदन सार्वजनिक भएपछि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनमा टेकेर रास्वपामाथि आलोचना समेत भयो ।
सत्तारुढ दल रहेको रास्वपाले त्यसबारे थप स्पष्टीकरण दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्यसबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै खण्डन गरेका हुन् ।
‘बालबालिका सम्बन्धी ऐन,२०७५ को दफा २ उपदफा (ञ) ले १८ वर्ष पूरा भएको व्यक्ति साबालक मानिएको छ। त्यसैगरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (क) मा १८ वर्ष पूरा भएको भन्ने व्यवस्था साथै रष्ट्रिय स्वतन्त्र पार्टीको विधानको दफा १३ (क) बमोजिम १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुने व्यवस्था रहेको छ । तसर्थ, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा पार्टी सदस्यका रूपमा संलग्न गराउने कार्य न राष्ट्रिय स्वतन्त्र पार्टीको नीति हो, न अभ्यास हो, न त कुनै संस्थागत उद्देश्य नै हो,’ महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनका अनुसार रास्वपाको आधिकारिक एप वा वेबसाइटमार्फत् सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्नेछन् । तर प्रारम्भिक आवेदन स्वतः सदस्यता स्वीकृत भएको नमानिने महामन्त्री आचार्यले स्पष्ट पारेका छन् । सदस्यताको अन्तिम रुपमा स्वीकृती हुनका लागि उमेर र राष्ट्रियता पुष्टि हुने नागरिकता वा अन्य आधिकरिक प्रमाण संलग्न गरी सम्बन्धित तहबाट प्रमाणीकरण सम्पन्न हुनुपर्ने उल्लेख गरिएको महामन्त्री आचार्यको भनाइ रहेको छ ।
‘एप वा वेबसाइटमार्फत् सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए तापनि, त्यस्तो प्रारम्भिक आवेदन स्वतः सदस्यता स्वीकृत भएको मानिँदैन। सदस्यता अन्तिम रूपमा स्वीकृत हुनका लागि उमेर तथा राष्ट्रियता पुष्टि हुने नागरिकता वा अन्य आधिकारिक प्रमाण संलग्न गरी सम्बन्धित तहबाट प्रमाणीकरण सम्पन्न हुनुका साथै विधान तथा कार्यविधि बमोजिम तोकिएका सम्पूर्ण प्रक्रिया पूरा भएको हुनुपर्छ,’ महामन्त्री आचार्यले भनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया