विश्वकपमा एम्बाप्पेको अर्को कीर्तिमान, फ्रान्स अन्तिम १६ मा

लोकपथ
91
Shares

काठमाडौं । फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बार्कोलाले एक गोल थपे ।

खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ५३औँ मिनेटमा बार्कोलाले गोल गर्दै अग्रता दोब्बर बनाए । ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको सहज जित सुनिश्चित गरे ।

यस जितसँगै एम्बाप्पे गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरीमा पुगेका छन् । जारी विश्वकपमा दुवैले समान ६–६ गोल गरेका छन् ।

विश्वकप इतिहासमा एम्बाप्पेको कुल गोल संख्या १८ पुगेको छ। उनीभन्दा अगाडि १९ गोलसहित मेसी रहेका छन् ।

खेलभरि एकतर्फी दबाब बनाएको फ्रान्सले थप गोल गर्ने अवसर पनि सिर्जना गरेको थियो । अन्ततः २०१८ को विश्व विजेता फ्रान्स ३–० को सहज जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?