काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको नीति सही भएको दाबी गरेका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । त्यस्तै वामपन्थी एकताका लागि आफूहरु आफ्ना नीतिहरु सही या गलत छन् भन्ने विषयमा छलफल गर्ने पक्षमा नरहेको समेत अडान कायम राखे ।
‘हामीले असाधारण काम गरेका हौँ । हाम्रा नीतिहरु सही छन् । नेकपा एमाले हाम्रा नीतिहरु सही छन् कि गलत छन् भन्ने बारेमा छलफल गर्ने पक्षमा छैन । किनकी हाम्रा नीतिहरु विल्कुल सही छन्,’ उनले भने ।
यसैगरी अहिलेको सरकारले संविधानविपरितका कामहरु गरेको आरोप लगाउँदै त्यसको विरुद्ध लड्नका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिए ।
विश्वभरी नै वामपन्थी शक्तिहरुमाथि प्रहार भइरहेको भन्दै उनले नेपालमा मदन भण्डारीको जबजमा टेकेर वामपन्थी शक्तिहरुलाई एक बनाउन लाग्नुपर्ने उनको धारणा रहेको छ ।
त्यसअघि बोलेका पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले वामपन्थी एकताको पक्षमा वकालत गरेका थिए । नेतात्रयले वामपन्थी एकता गर्न नसके आफूहरुको अस्तित्व मेटिँदै जाने टिप्पणी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया