०७२ देखि ०८२ विकृत राजनीतिको युग, हामी साक्षी भयौँ तर साझेदार भएनौँ : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन् ।

२०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युगको संज्ञा दिएका हुन् ।

शुक्रबार नेपाली कांग्रेसको नियमित श्रृङ्खला ग्रिन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भएपनि साझेदार नभएको जिकिर गरे । उनले भने ‘कतिपय सन्दर्भमा हामी विकृत युगको साक्षी भयौँ होला । तर त्यसमा सहभागी कहिल्यै भएनौँ ।’

आफूहरूले सुरुदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको जिकिर गरे । सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको उनको भनाई रहेको थियो ।

आफूहरू सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको तर त्यसमा कानुनी विधि–प्रक्रिया मिचिनु हुँदैन भन्नेमा पनि उत्तिकै सचेत रहेको सभापति थापाको भनाई थियो । ‘हामी भ्रष्टाचारको विरूद्धमा लडेर आएका हौँ । तर अहिले सामान्यिकरण गरेर सबै गलत भन्ने भाष्य बनाइँदैछ । हामी यो सफा गर्छौं । त्यसैका लागि पनि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्छौँ । तर त्यो काम विधि र कानुनलाई पछयाएर हुनुपर्छ। हाम्रो चासो यही हो,’ उनले भने ।

शासकीय सुधारको कानुनी प्रबन्ध नगरेरै सम्पत्ति छानबिनको हतारो गर्दा जनताको सुशासनको चाहना फेरि पनि नतिजामा पुग्दैन कि भन्ने चिन्ता थपिएको थापाले बताए ।

वैधानिकरूपमा संसदबाट शक्तिशाली छानबिन आयोग गठन गरेर अघि बढेको भए यसको क्षेत्राधिकार स्पष्ट हुने, काम गर्ने शैली प्रभावकारी हुने तथा त्यसबाट जनतामा विश्वसनीयता अझ धेरै बढ्नजाने सभापति थापाको भनाइ थियो ।

थापाले आफूहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण बुझाउने पनि जानकारी दिए । उनले भने ‘विधि र कानुनभन्दा माथि कोही हुँदैन। हामीहरू आयोगलाई सम्पत्ति विवरण बुझाउँछौं। तर विधि र प्रक्रियाको कुराहरू पनि सँगसँगै उठाइरहन्छौं। किनकि हामी नेपाली समाजलाई प्रष्ट बनाउन चाहन्छौँ ।’

सभापति थापाले पासपोर्ट काण्डको पनि छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताए ।

उनले भने, ‘पासपोर्ट काण्डबारे छानबिन सुरु भएको भन्ने थाहा भयो । पासपोर्ट काण्ड छानबिन हुनैपर्छ। तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?