काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन् ।
शुक्रबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् ।
सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको बताउँदै महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा समेत स्पष्ट पारिन् ।
उनले सुरुमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि पदाधिकारीका लागि अघि बढ्ने बताइन् ।
उनले भनिन्, ‘महाधिवेशन कुनैपनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो । संगठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ । पदाधिकारी बन्नका लागि पहिला केन्द्रिय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म शुरुमा केन्द्रिय सदस्यमै लड्छु ।’
पार्टीभित्रको असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न चर्चाका विषयमा टिप्पणी गर्दै उनले रास्वपाप्रतिको बढ्दो आकर्षणका कारण यस्ता छलफल हुनु स्वाभाविक भएको उल्लेख गरिन् ।
पार्टी विभाजनको सम्भावनालाई नकार्दै उनले नेतृत्व तहबाट त्यस्ता गतिविधिमा कुनै समर्थन नरहेको प्रस्ट पारिन् । महाधिवेशनको तयारी र सुरक्षा व्यवस्थाका बारेमा जानकारी दिँदै न्यौपानेले विभिन्न उपसमितिहरू क्रियाशील रहेको र आफू स्वास्थ्य उपसमितिमा रहेर काम गरिरहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया