श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैँ गरिबी झेल्नु पर्‍यो : हर्क साम्पाङ

लोकपथ
28
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा विकास गर्न नसक्दा मुलुकले लामो समयदेखि गरिबी झेलिरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रमशक्तिको उपयोगबाट मुलुकका सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

उनले श्रम र श्रमिकप्रति समाजमा अझै पनि विभेदपूर्ण दृष्टिकोण कायम रहेको उल्लेख गर्दै काम गर्ने मानिसलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए। श्रमलाई हेयको दृष्टिले हेर्ने प्रवृत्तिका कारण उत्पादन र आयआर्जन वृद्धि प्रभावित भएको उनको भनाइ थियो ।

राईले श्रम नै सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्ने मुख्य शक्ति भएको उल्लेख गर्दै कर संकलनको बहसभन्दा पनि उत्पादन, श्रम र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्ने बताए । श्रमप्रति सम्मान र सकारात्मक सोच विकास भए मात्रै मुलुक आर्थिक रूपमा समृद्ध बन्न सक्ने उनको धारणा थियो ।

उनले आफूले श्रम गर्ने व्यक्तिमाथि हुने विभेद अन्त्य गर्न अभियान सञ्चालन गर्दै आएको दाबीसमेत गरे। राईले सबैलाई श्रमप्रति सम्मान र प्रेमभाव राख्दै कामको संस्कृतिलाई समाजमा स्थापित गर्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?