काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकार कूटनीतिक तहबाट सक्रिय पहलमा रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ का अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरी नेपाली चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेको थियो ।
भेटका क्रममा टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले निर्यातमा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
सो अवसरमा मन्त्री खनालले चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिए । उनले चिया निर्यातसम्बन्धी समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग वार्ता अघि बढाइसकिएको उल्लेख गर्दै कूटनीतिक तहबाट ठोस पहल भइरहेको बताए ।
‘चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीसँग कुराकानी अगाडि बढाइसकेका छौँ । समस्याको निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार यसको छिट्टै समाधान निस्किनेछ,‘मन्त्री खनालले भने ।
उनले चियालगायत अन्य वस्तुको निर्यातमा बेला–बेला देखिने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि पनि भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिए ।
महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक करिब १२ अर्बदेखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र सङ्कटमा पर्दा राष्ट्रिय अर्थतन्त्र तथा लाखौँ नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै समस्या शीघ्र समाधान गर्न सरकारसँग आग्रह गरे ।
भेटमा सहभागी सांसद गणेश पराजुली र रहबर अन्सारी ले चिया निर्यातमा देखिएको समस्या तत्कालीन तथा दीर्घकालीन दुवै दृष्टिकोणबाट समाधान खोज्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया