काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महरले रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनबाट घर फर्कने क्रममा गत असार १ गते धनगढीमा ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध आक्रमण गरेको बताए ।
उनका अनुसार आक्रमणकारीहरूले सिंहलाई घाइते बनाउनुका साथै उनको साथमा रहेको ल्यापटप, मोबाइल, घडी र सुनको सिक्री समेत लुटेका थिए । बझाङबाट गत प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका उम्मेदवार रहेका सिंहमाथिको घटनाले मुलुकमा अराजकता र दण्डहीनता बढ्दै गएको संकेत गरेको महरको भनाइ थियो ।
आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको अवस्थामा समेत जिम्मेवार राजनीतिक नेतामाथि आक्रमण हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले दोषीहरूको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयसँग माग गरे । साथै उनले घाइते सिंहको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
त्यसैगरी, महरले बझाङको केदारस्युँ गाउँपालिका–६ का दीपक धामीको जापानको ओसाकामा असामयिक निधन भएको विषय पनि सदनमा उठाएका थिए । अध्ययन तथा रोजगारीका लागि ठूलो ऋण लिएर एक वर्षअघि जापान पुगेका धामीको निधनले परिवार गम्भीर आर्थिक समस्यामा परेको उनले बताए ।
महरले मृतक धामीको पार्थिव शरीर नेपाल ल्याउन आवश्यक समन्वय र सहयोग गर्न परराष्ट्र मन्त्रालय तथा नेपाल सरकारसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया