काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विनियोजन विधेयक संसदमा पेस भएको १८ दिन बितिसक्दा पनि मन्त्रालयगत बजेट तथा कार्यक्रमको विस्तृत विवरण सार्वजनिक नगरिएको भन्दै सरकारको पारदर्शितामाथि प्रश्न उठाएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक युवाराज दुलालले बजेट निर्माण तथा कार्यान्वयन प्रक्रियामा पारदर्शिताको अभाव देखिएको बताएका हुन् ।
उनले अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गरेलगत्तै मन्त्रालयगत कार्यक्रम र बजेटको विस्तृत विवरण सार्वजनिक हुने अपेक्षा गरिए पनि हालसम्म सम्बन्धित पुस्तक उपलब्ध नगराइएको गुनासो गरे । यसका कारण सांसदहरू विस्तृत अध्ययनबिनै संशोधन प्रस्ताव दर्ता गर्न र धारणा राख्न बाध्य भएको उनको भनाइ थियो ।
दुलालले मन्त्रालयगत बजेटमा अझै पनि थपघट भइरहेको भन्ने चर्चा सुनिएको उल्लेख गर्दै त्यस्तो कार्य सुशासन र पारदर्शिताको सिद्धान्तविपरीत हुने बताए। उनले विनियोजन विधेयक संसदमा पेश भइसकेपछि बजेटमा हेरफेर गरिनु स्वीकार्य नहुने धारणा राखे ।
‘विनियोजन विधेयक प्रस्तुत भएको १८ दिन भइसक्यो, तर आजसम्म मन्त्रालयगत किताब आएको छैन । कार्यक्रम पुस्तिका नपाइकनै खर्च कटौती प्रस्ताव दर्ता गर्न बाध्य भएका छौँ,‘ उनले भने।
नेकपाले बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्न तथा सांसदहरूलाई मन्त्रालयगत बजेटको विस्तृत विवरण समयमै उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया