पैसा सापट दिएकै भरमा शेखर गोल्छामाथि मुद्दा दायर !

गोल्छाले बयानमा भने, ‘सुलभ अग्रवाल र अमित मोरको व्यवहार शंकास्पद लागेको थियो’

काठमाडौं । व्यवसायी शेखर गोल्छाले व्यवसायीहरू सुलभ अग्रवाल र अमित मोरको व्यवहार र क्रियाकलाप शंकास्पद लागेपछि उनीहरूसँग कारोबार नगरेको बताएका छन् । पहिले व्यापारिक सहकार्य गर्ने भनी छलफल भएको भए पनि उनीहरूको क्रियाकलाप शंकास्पद देखिएपछि आफू पछाडि हटेको उनले बताएका छन् ।

सेयर कर्नरिङ सम्बन्धी कसुरमा ८१ जनालाई प्रतिवादी बनाएर बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुँदा व्यवसायी शेखर गोल्छालाई पनि प्रतिवादी बनाइएको छ । उनलाई भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई रकम दिएर नेपाल रि इन्स्योरेन्स कम्पनीको मूल्य कृतिम रुपमा बढाएको कसुरमा मुद्दा दायर गरिएको हो । उनी विरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो समेत कायम गरिएको छ ।

तर व्यवसायी शेखर गोल्छाले आफ्नो बयानका क्रममा भने भृकुटी स्टक ब्रोकिङमा आफ्नो खाता नरहेको, आफूले नेपाल रि इन्स्योरेन्स लगायतका कम्पनीको उक्त समयमा कुनै सेयर खरिद नगरेको, यो अपचलनमा आफू र आफ्ना परिवारका कुनै सदस्यको कुनै पनि प्रकारको संलग्नता नरहेको भन्दै आफ्नो बचाउ गरेका छन् ।

उनले आफू प्रतिष्ठित व्यापारी रहेको कारण आफ्नो मान र इज्जत तथा प्रतिष्ठामा आघात पुगेको भन्दै न्यायको समेत माग गरेका छन् । आफूले भृकुटी ब्रोकिङ कम्पनीलाई दिएको ५२ करोड ५० लाख रुपैयाँ बैंकले दिने ब्याजभन्दा बढी दिने भनेकाले दिएको समेत बताएका छन् । साथै उक्त रकम फिर्ताका लागि पटक पटक आग्रह गरेको तर फिर्ता नभएको समेत उनले बताएका छन् ।

नेपाल रि इन्स्योरेन्स कम्पनीको सेयर विभिन्न व्यक्ति तथा समूह मिली सस्तोमा उठाएर महँगो मूल्यमा बेच्ने कार्यमा ठुला व्यापारिक घरानाहरू, हिमालयन रि इन्स्योरेन्स कम्पनी लगायत अन्य बीमा कम्पनीहरूको रकम अनधिकृतरुपमा प्रयोग भएको पाइएको थियो । उक्त कम्पनीको सेयर सस्तो मूल्यमा उठाएर महँगो मूल्यमा बेचिएको थियो ।

सोही प्रकरणमा व्यवसायी शेखर गोल्छाको समेत संलग्नता रहेको भन्दै उनी विरुद्ध समेत मुद्दा दायर भएको छ । तर सेयर कर्नरिङको मुद्दामा प्राप्त प्रमाणहरूले न गोल्छाको कारोबार देखाएको छ न त संलग्नता नै । केवल एक ब्रोकर कम्पनीलाई ब्याज पाउने लोभमा दिएको रकमकै कारण उनीमाथि मुद्दा दायर भएको छ ।

हेर्नुहोस्, शेखर गोल्छाले सेयर कर्नरिङ सम्बन्धी कसुरमा दिएको बयानको पूर्ण पाठ :

  • मैले मेरो शेयर कारोबारको लागि श्रीकृष्ण सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २८) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मुख्य रूपमा एभरेस्ट बैंकको खाता प्रयोग गर्ने गरेको छु । भृकुटी ब्रोकर कम्पनीमा रहेको रकमको वास्तविक धनी म आफैँ हुँ । मैले मेरो व्यवसायबाट आर्जन गरेको वैधानिक रकम शेयरमा लगानी गर्नका लागि उक्त ब्रोकिङ कम्पनीलाई दिएको रकम हो । उक्त कम्पनीले खातामा रहेको मौज्दात रकम कसैको भुक्तानी सेटलमेन्टमा प्रयोग गरे नगरेको मलाई थाहा छैन । त्यो सम्बन्धित ब्रोकरसँग अनुसन्धान होस् । मैले दीपक भट्ट लगायतका नाउँमा शेयर खरिद गर्न वा कुनै कसुरजन्य कार्यका लागि सहजीकरण गर्न उक्त रकम प्रयोग गर्न दिएको होइन । मेरो दीपक भट्टसँग कुनै पनि वित्तीय र व्यावसायिक कारोबार छैन । मेरो व्यक्तिगत वा मसँग सम्बन्धित कुनै संस्था या मेरो परिवारको सदस्यहरूको नाममा नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको कुनै पनि शेयर नभएको कुरा जानकारी गराउन चाहन्छु ।
  • धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको तालिका ४ हेरी ब्यहोरा अवगत भयो । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिका अध्यक्ष समेत रहेका सन्दीप चाचन अग्रवाललाई म व्यक्तिगत रूपमा चिन्दिनँ । उक्त कम्पनीलाई मैले ५२ करोड ५० लाख रुपैयाँ दिएकोमा सो रकम फिर्ता लिन बाँकी छ । जसका लागि उसलाई मैले पटक पटक आग्रह र अनुरोध गर्दा निजले बैंकको ब्याजदर न्यून रहेकोमा सोभन्दा कमी नठहरिने गरी थप रकमसमेत दिउँला, हाल मसँग रकम छैन भनी आलटाल गर्दै आएका छन् । साथै निजको कार्यालयमा मैले रकम फिर्ताको लागि पत्राचार समेत पेस गरेको छु । साथै सुलभ अग्रवाल समेतले उक्त रकम सम्बन्धमा फिर्ता गराइदिने आश्वासन दिएका थिए । तर हालसम्म फिर्ता नगरी मलाई गैह्र कानुनी क्षति पुर्‍याई पीडित गराएका छन् । उक्त रकम मैले रोहित गुप्ता, राजबहादुर शाह, सुलभ अग्रवाल र अमित मोर समेतका साथीहरूसँग सल्लाहमा निजहरूको विश्वासमा दिएको हुँ । जब की उक्त ब्रोकिङ कम्पनीमा मेरो डिम्याट खाता पनि छैन ।
  • माथि उल्लिखित साथीहरू मध्ये सुलभ अग्रवाल र अमित मोर समेतका शंकास्पद व्यवहार र निजहरूका काम क्रियाकलाप प्रति विश्वास नलागेकोले मैले तत्काल खाता नखोलेको सही सत्य हो । यस बाहेक अन्य कुनै पनि कारोबार एवम् लेनदेन र नाता सम्बन्ध आदि छैन । उल्लिखित कम्पनीहरूको कारोबार सम्बन्धमा कम्पनीले कानुन बमोजिम कार्य गर्नुपर्ने हुन्छ । कोही जिम्मेवार पदाधिकारीले जिम्मेवारी निर्वाह नगरेको भए कानुन बमोजिम होस् ।
  • म हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडमा स्थापना कालदेखि नै सञ्चालक अध्यक्ष रहेको थिएँ । हाल अन्दाजी दुई महिना अगाडि मैले राजीनामा दिएको छु । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर खरिद विक्री सम्बन्धी कारोबार कम्पनीको प्रबन्ध पत्र वा नियमावलीमा व्यवस्था भएबमोजिम तथा प्रचलित कानुन बमोजिम लगानी समितिले गर्ने गरेको छ । उक्त कारोबारको बारेमा लगानी समितिलाई त्यसको पूरा जिम्मेवारी रहन्छ । व्यवस्थापन र नियमित प्रशासनिक कार्यहरूबाट त्यस्तो कारोबार भए गरेको भए कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई जानकारी होला । कम्पनीको सञ्चालक अध्यक्षको रूपमा वार्षिक वित्तीय विवरणहरू बाहेक मलाई शेयर कारोबारको कुनै जानकारी हुने गरेको छैन । मैले यसभन्दा अगाडिको जवाफमा समेत खुलाइदिएको छु । मेरो विभिन्न उद्योग व्यवसायमा लगानी रहँदै आएको छ र आजसम्म म कुनै गैह्र कानुनी कार्य गरी दण्डित भएको छैन । म एक प्रतिष्ठित व्यवसायीको हैसियतमा विभिन्न संघ संस्थाहरूले मेरो नेतृत्वको आधारमा कम्पनीको विश्वसनीयता र बुक भ्यालु बढ्ने हुन्छ भनी नेतृत्व लिन आग्रह गर्ने गर्दछन् । सोही क्रममा नै हिमालयन रि इन्स्योरेन्स कम्पनीको समेत म सञ्चालक अध्यक्ष भएको थिएँ । तर म कुनै किसिमको कम्पनीको काममा कार्यकारी भूमिकामा थिइन । तर पछिल्लो समयमा कम्पनी सम्बद्ध विभिन्न व्यक्तिहरूले यसको दुरुपयोग गरेको भन्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतको बयानमा मलाई शंका लागेपछि मैले उक्त संस्थाबाट राजीनामा दिएको छु । मैले कुनै गलत मनसाय राखी निर्णय गर्ने गराउने तथा गैह्र कानुनी कार्यमा सहभागी समेत भएको छैन । यस सम्बन्धमा बोर्डमा आकस्मिक बैठक बोलाई सिइओ लगायतका अन्य उच्च व्यवस्थापनका कर्मचारीहरूसँग भृकुटीसँग लिनुपर्ने रकमको बारेमा प्रश्नावली गर्दा निजहरूले हामीले कानुनी पत्राचार गरेका छौँ, तर सञ्चालक बोर्डका व्यक्तिहरूलाई कुनै पनि जानकारी नदिएको भनी माईन्युट समेत गरेको ब्यहोरा जानकारी गराउँदछु । कोही कसैको त्यस्तो संलग्नता भेटिएमा कानुन बमोजिम होस् ।
  • मैले माथिको जवाफमा खुलाए बमोजिम नै कम्पनीका काम तथा गतिविधिको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बयान गरेपश्चात् मेरो जानकारी अनुसार सुलभ अग्रवाल, निजको श्रीमती सुभी अग्रवाल, दीपक भट्ट, ऋषिराज मोर, अमित मोर समेतको सहभागिता हुन सक्दछ । तर त्यो मैले यकिन गर्न सक्ने मसँग आधारहरू छैन । सो पश्चात् मैले आकस्मिक बोर्डको बैठक राखी कुनै पनि गैह्र कानुनी काम कारबाही भएको हुनसक्ने समेत कार्य म जस्तो जिम्मेवार व्यक्तिले सोच्न समेत नसक्ने भएकोले अध्यक्ष पदबाट राजीनामा दिएको थिएँ ।
  • म, रोहित गुप्ता, राज बहादुर शाह, अमित मोर र सुलभ अग्रवाल समेतले सामाजिक भेटघाटको सिलसिलामा निज सुलभ अग्रवालको अगुवाइमा धितोपत्र बजारमा राम्रो र वैधानिक आम्दानी हुन्छ । साथै भृकुटी ब्रोकिङ कम्पनीले न्यून कमिसनमा राम्रो र पारदर्शी सेवा प्रदान गर्दछ भन्ने विश्वास दिलाएर लगानी गर्ने कुराकानी भएको थियो । सो पश्चात् सम्बन्धित कम्पनीमा मैले समेत धितोपत्र कारोबार गर्ने प्रयोजनको लागि रकम जम्मा गरेको सम्म हो । तर रकम जम्मा गरिसकेपश्चात् पनि मेरो कानुन व्यवसायी र हितैषी साथीहरूको सल्लाह बमोजिम मैले शेयर कारोबार नगर्ने निर्णय बमोजिम शेयर बजारको तत्कालीन अवस्थामा कुनै लगानी गरेको छैन । कोही कसैलाई उक्त रकम प्रयोग गर्ने कुनै पनि सहमति दिएको छैन । मैले पटक पटक रकम फिर्ताको लागि आग्रह समेत गर्दै आएको छु । कानुनी रूपमा समेत पत्राचार गरेको छु । म सम्बद्ध कम्पनीका निर्णयहरू समेत मगाई उक्त कम्पनीका शेयर कारोबारमा जिम्मेवार व्यक्तिहरू लगानी समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेतलाई सोधपुछ गरी सोको यकिन होस् ।
  • माथि उल्लिखित शेयर कारोबारमा मेरो कुनै संलग्नता छैन । म आफैँ शेयर कारोबारमा सक्रिय समेत छैन । म माथि यी र यस्ता कार्यहरूबाट मेरो व्यावसायिक र व्यक्तिगत प्रतिष्ठामा आँच पुग्न गएको समेतले पीडा बोध र अपूरणीय क्षति भएको छ । उक्त कार्यको अनुसन्धान गरी मलाई समेत न्याय होस् । भृकुटी स्टक ब्रोकिङ लिमिटेडमार्फत कानुन बमोजिम हुने कारोबारको सामान्य जानकारी छ । तर माथि सवालमा उल्लिखित लाभपूर्ण मनसाय र कारोबार सम्बन्धमा म आफैँ कारोबार गर्दिन । त्यो सम्बन्धी कारोबारमा अध्यक्षको भूमिकामा कुनै पनि कारोबारको मलाई जानकारी समेत कुनै माध्यमबाट भए गरेको छैन । मैले जानेर वा बदनियत साथ आजसम्म कुनै गैह्र कानुनी कार्य समेत गरेको छैन । सो कुराको पुष्टि बोर्डमा भएको माईन्युटबाट समेत प्राप्त गर्न सकिन्छ । मेरा कारोबारहरू मैले बैकिङ प्रणालीमै गर्ने गरेको छु । कानुन बमोजिम मगाई सोको अनुसन्धान होस् । उक्त रकम मेरो व्यवसायबाट कानुन बमोजिम आर्जन गरेको वैध आम्दानी हो ।
  • मैले माथिका सवालहरूमा समेत खुलाए बमोजिम नै म कुनै गैर कानुनी योजनामा संलग्न समेत छैन । मैले मलाई आरोप लागेको रकमको विषयमा समेत करयोग्य रकम ब्रोकरको खातामा उपयुक्त समयमा शेयर कारोबारको लागि राखेको हो । उक्त रकम नै दुरुपयोग गरेको सम्बन्धमा मलाई यकिन जानकारी हुने विषय समेत रहेन । उक्त विषयको जिम्मेवारी सम्बन्धित स्टक ब्रोकिङ कम्पनीको हुनुपर्छ । निजलाई समेत आवश्यक अनुसन्धान होस् । दीपक भट्ट समेतसँग मेरो कुनै पनि व्यावसायिक सम्बन्ध नरहेको कुरा समेत पुनः दोहोर्‍याउन चाहन्छु ।
  • माथि सवालमा उल्लिखित गैह्र कानुनी कारोबारहरूको बारेमा मलाई कुनै जानकारी थिएन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बयानको क्रममा मैले जानकारी पाएको र उक्त जानकारीबाट म आफैँ विचलित भई आकस्मिक बोर्डको बैठक डाकी उक्त विषयमा सिइओ लगायत उच्च व्यवस्थापनका कर्मचारीहरूलाई समेत डाकी बैठकमा निजहरूले उक्त कारोबार भए गरेको सम्बन्धमा सञ्चालक समितिलाई जानकारी नगराएको भनी दिएको जवाफको माईन्युट समेत गरिएको ब्यहोरा पुनः दोहोर्‍याउन चाहन्छु । गत आर्थिक वर्षको वित्तीय विवरणहरू समेत मैले प्रमाणित गरेको छैन । एकमुष्ट वित्तीय विवरण प्रमाणित गर्दा यस पूर्व भएका निर्णयहरू समेतमा मैले कुनै गैह्र कानुनी कार्य प्रमाणित समेत गरेको छैन । प्रत्येक व्यक्ति तथा संस्थाले आफ्नो कानुन बमोजिम निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्दछ । मैले कानुन बमोजिम काम गर्दा कुनै गलत मनसायगत धारणा राखी कुनै गैह्र कानुनी कार्य गरेको छैन । कुनै पनि लाभ लिएको छैन । प्रचलित कानुन बमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम सहन बुझाउन मेरो मन्जुरी छ ।
  • कम्पनीको लगानी समितिलाई कानुन बमोजिम लगानी गर्ने पूरा अधिकार दिइसके पश्चात् सञ्चालक समितिमा पेस नगरेसम्म सञ्चालकलाई थाहा हुने कुरा भएन । साथै सो सम्बन्धी कुनै पनि वार्षिक वित्तीय विवरण समेत तयार नभएको र मैले प्रमाणित नगरेको समेत जानकारी गराउन चाहन्छु । सञ्चालक समितिमा पेस नगरी के कसरी दुरुपयोग तथा कसुर भएको मैले समेत यकिन गर्न सक्ने कुरा भएन । यस कुराको पुष्टि मैले आकस्मिक रूपमा सञ्चालक समितिको बैठक बोलाउँदा सिइओ लगायत उच्च व्यवस्थापनले पुष्टि समेत गरेको अवस्थामा निजहरू नै जिम्मेवार हुनुपर्दछ सो सम्बन्धमा अनुसन्धान होस् । प्रचलित कानुन बमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम होस् । प्रस्तुत कसुर धितोपत्र सम्बन्धी कारोबारसँग सम्बन्धित विषय हो । उक्त विषयमा म आफैँले कुनै धितोपत्रको कारोबार गरेको छैन । मैले संस्थागत रूपमा हिमालयन रि-इन्स्योरेन्स कम्पनीको अध्यक्षको गलत प्रयोग गरेको छैन र कुनै लाभ समेत लिएको छैन । NRIC मा लगानी गर्ने या नगर्ने सल्लाहमा म, मेरो परिवार, मेरा हितैषी र कानुनी सल्लाहकारबाट म पछाडि हटेको हुँ । म, मेरो परिवार, मेरो व्यवसाय समेतले गैह्र कानुनी तवरबाट प्रतिवेदनमा उल्लेख भएको भनिए बमोजिमका NRIC लगायतका शेयरहरूमा कुनै कारोबार समेत भएको छैन । कुनै प्रत्यक्ष र अप्रत्यक्ष लाभ समेत लिएको छैन । यी समेत तथ्यबाट मेरो कुनै कसुर गर्ने मनसाय र कार्य समेत भएको छैन ।

धितोपत्र सम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छाको प्रत्यक्ष संलग्नता देखिने कुनै आधार र प्रमाण नभए पनि उनीमाथि समेत ५२ करोड ५० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । जबकि गोल्छाले उक्त रकम ब्रोकर कम्पनीलाई केही ब्याजको लोभमा दिएको बताएका छन् र उक्त रकम सुलभ अग्रवाल, राजबहादुर शाह लगायतको अनुरोधमा दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?