चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन

लोकपथ
168
Shares

काठमाडौं । नेपाली चलचित्रका निर्देशक कृष्ण चापागाईंको अमेरिकामा हृदयघातका कारण निधन भएको छ ।

बोस्टनस्थित क्याम्ब्रिज हेल्थ अलायन्स एभरेट अस्पतालमा उपचारका क्रममा उनको निधन भएको चलचित्र निर्देशक अनिल संग्रौलाले जानकारी दिएका छन् ।

काठमाडौंको जोरपाटीका स्थायी बासिन्दा चापागाईं विगत डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए। उनी पत्नी, दुई छोरी र एक छोरासहित बोस्टनमा बस्दै आएका थिए ।

चापागाईंले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’ र ‘निखिल दाइ’ लगायत चलचित्रको लेखन तथा निर्देशन गरेका थिए । उनले केही समय जोरपाटीमा ‘चापागाईं सुटिङ स्टुडियो’ समेत सञ्चालन गरेका थिए ।

चलचित्र क्षेत्रमा सक्रिय हुनुअघि उनी नाट्यकर्मीका रूपमा परिचित थिए । त्यसपछि भिडियो फिल्म हुँदै ठूलो पर्दाका चलचित्रमा सहायक निर्देशकका रूपमा प्रवेश गरेका चापागाईंले नेपाली चलचित्र क्षेत्रमा निर्देशक तथा लेखकका रूपमा महत्वपूर्ण योगदान दिएका थिए ।

उनको निधनप्रति चलचित्रकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?