काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको विकास र आर्थिक रूपान्तरणका लागि राज्य एक्लैले सबै स्रोत परिचालन गर्न नसक्ने बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विकास प्रक्रियामा राज्यले नेतृत्वदायी भूमिका निर्वाह गर्ने भए पनि सम्पूर्ण जिम्मेवारी सरकारले मात्र वहन गर्न नसक्ने स्पष्ट पारे ।
उनले सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको भूमिकाबारे अझै स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै आर्थिक रूपान्तरणका लागि सहकार्य अपरिहार्य हुने बताए ।
पाण्डेले बजेटले संरचनात्मक परिवर्तन, राज्यको चरित्र रूपान्तरण र अर्थतन्त्रको स्वरूप बदल्ने लक्ष्य राखे पनि त्यसको सफल कार्यान्वयनका लागि स्रोत व्यवस्थापन र लगानीको भार सरकार एक्लैले धान्न नसक्ने धारणा राखे ।
अर्थमन्त्रीका रूपमा आफ्नो अनुभव स्मरण गर्दै उनले राज्यसँग नीति निर्माण र कार्यान्वयन गर्ने क्षमता भए पनि विकासका सबै अपेक्षा पूरा गर्न अर्थ मन्त्रालय वा सरकार मात्र सक्षम नहुने यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए ।
उनका अनुसार बजेटमा महत्वाकांक्षी लक्ष्य भए पनि स्पष्ट वित्तीय स्रोत नदेखिएकाले कार्यान्वयन चुनौतीपूर्ण हुन सक्छ । विकास लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया