फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

लोकपथ
182
Shares

काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भूकम्प मापन निकायहरूले भूकम्पको तीव्रता ७.० देखि ७.८ म्याग्निच्युडसम्म रहेको बताएका छन् भने जर्मन अनुसन्धान संस्थाले प्रारम्भिक रूपमा ८.२ म्याग्निच्युड अनुमान गरेको थियो, जसलाई पछि संशोधन गरिएको थियो ।

भूकम्प स्थानीय समयअनुसार बिहान ७स्३७ बजे साराङ्गानी तटवर्ती क्षेत्रमा करिब १० किलोमिटर गहिराइमा गएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु जनरल सान्तोस सिटी नजिक रहेको अधिकारीहरूले जनाएका छन् ।

भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया तथा अमेरिकी सुनामी चेतावनी प्रणालीले सुनामीको चेतावनी जारी गरेका छन्। तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ । केही क्षेत्रमा एकदेखि तीन मिटर उचाइसम्मका सुनामीका छाल आउन सक्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण विभिन्न भवन, विद्यालय तथा सार्वजनिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। केही क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर खुला स्थानतर्फ भागिरहेको देखिन्छ ।

स्थानीय प्रशासनका अनुसार क्षतिको विस्तृत मूल्यांकन तथा उद्धार कार्य जारी छ। केही व्यक्तिहरू सामान्य घाइते भएको जानकारी आए पनि मानवीय क्षतिको आधिकारिक विवरण अझै संकलन भइरहेको छ ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित फिलिपिन्स भूकम्पीय गतिविधिका हिसाबले अत्यन्त संवेदनशील देश मानिन्छ, जहाँ शक्तिशाली भूकम्पहरू बारम्बार आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?