काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा पुनः रामेश्वर गजुरेल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि समेत सानदार मतसहित गजुरेल निर्वाचित भएका हुन् ।
प्रथम जिल्ला अधिवेशन सर्वसम्मतको प्रयास गरिएको थियो । तर अन्य व्यक्तिहरु समेत आकांक्षी देखिएपछि शनिबार नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
३२५ मत खसेकोमा २५७ मतसहित गजुरेल निर्वाचित भएका हुन् । प्रतिष्पर्धा गरेकामध्ये राजुप्रसाद लामिछानेले २८, शरण महतले ३७ र दामोदर नेपालले १ मत मात्रै प्राप्त गरेका थिए ।
प्राप्त परिणाम अनुसार उपसभापतिमा कृष्णलाल श्रेष्ठ, सचिवमा बसन्त धिताल, सहसचिवमा सम्बर तामाङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा छेपोन तामाङ, गोकर्ण रोक्का, लक्ष्मी पाण्डे, जानुका सापकोटा रहेका छन् । यता निर्वाचन क्षेत्र नं १ सदस्यमा विपना पाण्डे र निर्वाचन क्षेत्र नं २ सदस्यमा सुवास भण्डारी रहेका छन् ।

को हुन् गजुरेल ?
बेलकोटगढी–९ नगलाउमा जन्मिएका गजुरेल सानैबाट सामाजिक कार्यमा सक्रिय रहेका थिए । उमेरले २५ वर्ष मात्र पुगेका गजुरेल रास्वपा नुवाकोटको संस्थापक जिल्ला सभापति समेत हुन् । २०७९ साल असार ७ गते रास्वपा स्थापना हुँदा सामाजिक अभियन्ता रहेका गजुरेल २०७९ साल भदौ ५ गते तदर्थ समितिका सभापति बनेका थिए ।
सामथ्र्य अभियान नेपाल हुँदै सभ्यता समाज नेपाल हुँदै सामाजिक काम गरिरहेका उनलाई सुरुवाती क्षणमै रास्वपाले पत्याएको थियो । पूराना राजनीतिक दलहरुको गढ मानिने नुवाकोटमा ०७९ को प्रतिनिधि सभा निर्वाचनमा नै दुवै क्षेत्रका उम्मेदवारहरुले राम्रो मत प्राप्त गर्न सफल भएका थिए ।
त्यसबेला संगठन कमजोर रहेको अवस्थामा समेत राम्रो मत प्राप्त गरेको रास्वपाले गत निर्वाचनमा भने दुवै क्षेत्रमा जित हासिल गरेको छ, जसको जस जिल्ला सभापतिका रुपमा गजुरेललाई नै जाने नेता कार्यकर्ताहरु बताउँछन् ।
देशभरबाट रास्वपा जिल्ला नेतृत्व चयनको नतिजा आइरहेको छ । सम्भवत रामेश्वर गजुरेल नै देशभरका कान्छा जिल्ला सभापति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया