देशभरका मुख्य राजमार्ग प्रभावित, कुन सडकको अवस्था कस्तो छ ?

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं। देशका विभिन्न भागमा परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीको आज बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार बागमती, कोशी र लुम्बिनी प्रदेशका थुप्रै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान नजिकै सतुङ्गल–चित्लाङ सडक खण्डमा पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सो स्थानमा मर्मत कार्य जारी रहेकाले बाटो करिब एक महिनासम्म बन्द रहने जनाइएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा पनि सडक अवरोध देखिएको छ । पाँचथरको याङवरक गाउँपालिका-२ दोभान स्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

यद्यपि, केही स्थानमा भने यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण प्रभावित मध्य पहाडी लोकमार्ग वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी सुचारु गरिएको छ ।

त्यसैगरी, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरोका कारण अवरुद्ध कोशी राजमार्ग पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा छ ।

रोल्पामा पनि पहिरोले क्षति पुर्‍याएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१ बाङ्गा स्थित घोराही–थवाङ सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक विभाग र सुरक्षा निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन् ।

वर्षा जारी रहेकाले यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रशासन वा प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?