३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित चिकित्सक पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार तथा डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका २९ वर्षीय डा.पप्पुकुमार यादव रहेका छन् ।

उनलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार डा.यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

अनुसन्धानका क्रममा उनले अवैध क्रिप्टोकरेन्सी कारोबारको नेटवर्क सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

उनको मोबाइल तथा अन्य विद्युतीय उपकरण परीक्षण गर्दा ‘वाइनान्स’ र ‘बाइविट’ जस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार भइरहेको फेला परेको प्रहरीले जनाएको छ ।

भरतपुरस्थित एक अस्पतालमा कार्यरत डा.यादवले हालसम्म कति व्यक्तिबाट कति रकम ठगी गरेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?