प्रधानमन्त्रीको अभिव्यक्ति चिया पसलमा गफ गरे जस्तो भयो : ज्ञानेन्द्र शाही

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ ले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताए । 

प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री साहको नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । 

उनले भारतको सीमा मिचेको दाबीको आधार संसदमा पेस गर्न प्रधानमन्त्रीसँग माग गरे । प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उनको भनाई छ । 

उनले सामान्य नागरिकले व्यक्त गर्ने धारणा र प्रधानमन्त्रीले संसदमा राख्ने भनाइको प्रभाव फरक हुने उल्लेख गर्दै प्रधानमन्त्रीका अभिव्यक्तिलाई देशको आधिकारिक दृष्टिकोणका रूपमा लिइने भएकाले तथ्य बिनाका दाबी स्वीकार्य नहुने धारणा राखे । उनले सरकारसँग नेपालतर्फको भूमि भारतले मिचेको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण वा तथ्याकं भए संसदमा पेस गर्न आग्रह गरे । 

प्रमाण नभए जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्ने उनको भनाइ थियो । उनले तथ्याकं विहीन अभिव्यक्ति राजनीतिक भाषण हुन सक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने टिप्पणी गरे । राष्ट्र अनुमानले नभई तथ्यका आधारमा चल्ने उनको भनाई छ । उनका अनुसार भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्रै विश्वास जित्न सक्छ । शाहीले प्रधानमन्त्रीले संसदमा बोलेका शब्दहरू प्रमाणसहित पुष्टि गर्नुपर्ने वा अन्यथा संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरे । 

उनले भने, ‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र हुन्छ, तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलको गफ र संसदको अभिव्यक्ति फरक हुन्छ । सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ । प्रधानमन्त्रीज्यूले जब कुनै दाबी गर्नुहुन्छ, त्यसले देशले सरकारी धारणा ठान्छ, अन्तराष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यको रूपमा ग्रहण गर्छन् । त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्छ ।  तथ्याङ्क विनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ तर राज्य संचालन गर्ने आधार बन्न सक्दैन । अनुमानको आधारमा राष्ट्र चल्दैन, तथ्यको आधारमा चल्छ, भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्रै विश्वास जित्न सक्छ । यदि सरकारसंग नेपालले भारतको सीमा मिचेको कुनै पनि दाबी आधार छ भने संसदसंग प्रस्तुत गर्न अपिल गर्दछु । यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्छ । प्रजातन्त्रमा विश्वासको आधार सत्य हो र सत्यको आधार तथ्याङक हो । त्यसैले प्रधानमन्त्रीले तथ्याङ्क विना  बोलिएका शब्दहरू संसदको रेकर्टबाट हटाउनको लागी सभामुखसँग अपिल गर्दछु । यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन, यो देशको प्रधानमन्त्रीले, देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा राखेको विषयवस्तु यहाँ कि त तथ्य र प्रमाण पेस गरिनुपर्छ । होइन भने संसदको रेकर्डबाट प्रधानमन्त्रीले बोलेको कुरा हटाउनुपर्छ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य राजनीतिक टिप्पणी नभई देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा उठाएको विषय भएकाले त्यसको पुष्टि आवश्यक रहेको जिकिर गरे । उनले सभामुखसँग प्रधानमन्त्रीको तथ्यहीन अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?