काठमाडौं । विपक्ष दलहरूले प्रधानमन्त्री वालेन शाहले भारतसँग सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै संसदमा आएर माफी माग्न माग गरेका छन् ।
सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्ष दलहरूको बैठकले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयमा दिएको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार र राष्ट्रहित विपरीत भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्ति अस्वीकार्य रहेको बताउँदै संसदमा आएर माफी माग्नुपर्ने अडान लिएको जानकारी दिए । उनका अनुसार विपक्ष दलहरूले उक्त अभिव्यक्तिलाई सार्वभौमिकता र राष्ट्रिय हितमा आँच पुर्याउने खालको भन्दै कडा आपत्ति जनाएका छन् ।
त्यसैगरी, विपक्ष दलहरूले संसदको नियमावली पारित गर्ने क्रममा सभामुख डोलप्रसाद अर्यालले विपक्षलाई पेलेर प्रक्रिया अघि बढाएको आरोप पनि लगाएका छन् । उनीहरूले नियमावलीलाई सहमतिमा नभई बहुमतको बलमा अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसकी उपनेता पद्या अर्यालले नियमावली पारित गर्ने प्रक्रिया विगतको संसदीय परम्परा विपरीत भएको टिप्पणी गर्दै विपक्षलाई सहभागी नगराई अघि बढाइएकाले यो दुःखद भएको बताइन् । उनका अनुसार यसले संसदको अपनत्व र गरिमामाथि असर परेको छ ।
विपक्ष दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘गम्भीर त्रुटि’ भन्दै संसदमा स्पष्टिकरणसहित माफी माग्नुपर्ने निष्कर्ष निकालेका छन् । साथै, सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै आगामी दिनका कार्यक्रम परिस्थिति अनुसार तय गर्ने संकेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया