काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभावबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिबारे टिप्पणी गर्दै विचार, संगठन र नेतृत्वको बलियो आधारबिना उदाएका राजनीतिक शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरे ।
पुनले डिजिटल युगमा राजनीतिक एजेन्डा सामाजिक सञ्जालमार्फत निर्माण हुने र त्यसमा स्पष्ट नेतृत्वको अभाव देखिने बताए । उनका अनुसार भर्चुअल माध्यमबाट संगठित हुने समूहहरूले छोटो समयमै प्रभाव जमाउन सक्ने भए पनि त्यस्ता आन्दोलन र राजनीतिक शक्तिहरूको स्थायित्व कमजोर हुने गर्छ ।
उनले निर्वाचनका क्रममा मतदान केन्द्रमा मतदाता उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित रूपमा आउने गरेको उल्लेख गर्दै सामाजिक सञ्जाल र भर्चुअल संसारको प्रभाव बढेको बताए ।
‘अहिले एजेन्डा सामाजिक सञ्जालमा बन्छन्। नेतृत्वभन्दा पनि समान सोच भएका समूहहरू एक ठाउँमा आएर एजेन्डा तय गर्छन्। यस्तो प्रवृत्ति अत्यन्त तीव्र, आक्रामक र कहिलेकाहीँ ध्वंसात्मक पनि देखिएको छ,‘उनले भने ।
पुनले आफ्ना संगठन र कार्यकर्तालाई प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य चुनौती भएको बताए । साथै, सामाजिक सञ्जालमार्फत छिटो लोकप्रियता हासिल गरेका राजनीतिक शक्ति र आन्दोलनहरू त्यत्तिकै छिटो कमजोर पनि हुन सक्ने उनको तर्क थियो ।
२०७९ सालको निर्वाचनपछि उदाएका नयाँ राजनीतिक शक्तिहरूको उदाहरण दिँदै उनले मधेश केन्द्रित दलहरू र स्वतन्त्र राजनीतिक अभियानहरूको प्रभाव अपेक्षाकृत छोटो समयमै घट्न थालेको दाबी गरे । नयाँ भनिएका दलका मन्त्रीहरू छोटो अवधिमै पदमुक्त भएको घटनालाई पनि उनले त्यस्ता शक्तिहरूको कमजोर आधारसँग जोडेर व्याख्या गरे ।
उनका अनुसार राजनीतिक विचार, त्याग, बलिदान र दीर्घकालीन संगठनात्मक जगबिना समाज र राज्य सञ्चालन गर्न सकिँदैन । ‘जुन शक्ति विचार र आन्दोलनको जगमा निर्माण भएको हुँदैन, त्यो जति छिटो माथि पुग्छ, उति नै छिटो तल पनि झर्न सक्छ,‘उनले भने ।
विगतको पञ्चायतकालीन संघर्ष, जनआन्दोलन र जनयुद्धजस्ता आन्दोलनहरू क्रमिक रूपमा संगठन विस्तार गर्दै अघि बढेको स्मरण गर्दै पुनले वर्तमान ‘भर्चुअल राजनीतिक लहर’ त्यस्तो प्रकृतिको नभएको बताए । स्थापित राजनीतिक दलहरूले आफूलाई समयअनुकूल रूपान्तरण गर्न सके आगामी दिनमा पुनः नेतृत्वदायी भूमिकामा फर्किने उनको विश्वास थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया