काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको सुदृढीकरण र सत्ताको स्वेच्छाचारिता नियन्त्रणका लागि सञ्चार जगतले सशक्त पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन को स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता केसीले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पूरक भएको उल्लेख गरे । उनले वर्तमान सामाजिक परिवेशमा सत्यभन्दा असत्य र भ्रमको खेती बढिरहेको भन्दै सञ्चारकर्मीलाई अझ सतर्क र जिम्मेवार बन्न आग्रह गरे ।
मिथ्या सूचना र भ्रमपूर्ण सामग्रीको भीडमा सत्य, यथार्थ र वस्तुगत विश्लेषणसहितको सूचना सम्प्रेषण गर्नु अहिलेको मुख्य चुनौती भएको उनको भनाइ थियो । उनले पत्रकारिताले समाजलाई सुसूचित बनाउने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेता केसीले पूर्ण शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई स्मरण गर्दै सत्ता र शक्ति केन्द्रमा देखिने निरंकुश प्रवृत्तिप्रति आलोचना गरे । लोकतन्त्रमा ‘चेक एन्ड ब्यालेन्स’ अनिवार्य हुने उल्लेख गर्दै उनले प्रेसले सत्ता, शक्ति र राजनीतिक दलभित्रका विसंगतिलाई उजागर गर्नु आफ्नो धर्म भएको बताए ।
उनले भने, ‘जहाँ लोकतन्त्र छैन, त्यहाँ पत्रकारिताको कलम चल्न सक्दैन । निष्पक्ष, पारदर्शी र सुसूचित गर्ने पत्रकार स्वभावैले लोकतन्त्रवादी हुन्छ, किनभने लोकतन्त्रले मात्रै अभिव्यक्ति र संगठन गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।’
कार्यक्रममा नेता केसीले वर्तमान सरकारका केही कदमहरूले स्थापित लोकतान्त्रिक मूल्य–मान्यता र परम्परामाथि चुनौती सिर्जना गरेको आरोपसमेत लगाए । संविधानको धारा १७ ले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रण गर्न खोजिएको भन्दै उनले त्यसलाई नयाँ निरंकुशता को संकेतका रूपमा चित्रण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया