काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योती प्रकाश पाण्डेलाई छाड्न आदेश दिएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।
सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सामान लिलामी आरोपमा पाण्डेलाई बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
सर्वोच्चले पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिँदै विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशका आधारमा मात्रै जानुपर्ने समेत आदेशमा उल्लेख गरिएको छ ।
किन पक्राउ परेका थिए पाण्डे ?
वैशाख २९ गते मंगलबार पाण्डेलाई सीआईबीको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट करिब ८ बजे पक्राउ गरेको थियो ।
काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।
हाल चर्चामा रहेको स्मार्ट टेलिकम प्रालिले नवीकरण नगरी सञ्चालन गरेकोमा दूरसञ्चार ऐन २०५३ को दफा २५ अनुसार २०८० साल वैशाख ३ गते सरकारले अनुमति पत्र नै रद्द गरेको थियो । त्यसपश्चात नेपाल सरकारको नाममा आएको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना तथा दूरसञ्चार प्रणाली समेत नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
तर पाण्डेले उक्त सम्पत्तिहरुबाट सरकारको हक टुटाउने कार्यमा संलग्न रहेको उनीमाथि आरोप रहेको थियो ।
लोन रिकभरी कमिटी (एलआरसी) को अध्यक्ष समेत रहेर काम गरेका पाण्डेले आपराधिक विश्वासघात गरेको कसुरमा सीआईबीले पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–१८ रक्तकाली स्थायी ठेगाना भएका पाण्डे ललितपुर महानगरपालिका–५ मानभवन बस्दै आइरहेका थिए । स्मार्ट टेलिकम प्रकरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको थाहा पाएसँगै मोबाइल समेत स्वीच अफ गरी फरार रहेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।
यसअघि प्रकाशित यो पनि…
स्मार्ट टेलिकम लिलामी प्रकरण : एनसेलले भन्यो- ‘कि सामान देऊ, कि पैसा फिर्ता गर’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया