काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको ‘बम्पर उपहार’ नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दसैँका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’बाट तीन हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका निम्ति छनोट भएको हो ।
काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई टेलिफोनमार्फत १० लाख रुपैयाँ जितेको जानकारी गराए ।
सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन योजना भएको आश्वस्त पारेका थिए ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार, उपभोक्तामाझ बिल लिने बानीको विकास गर्न यो कार्यक्रम लागु गरिएको हो । असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रविष्ट गर्ने दुई लाख ७५ हजार ८८४ र क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका तीन करोड ७४ लाख ७८ हजार ३८० गरी कुल तीन करोड ७७ लाख ५५ हजार २६४ रुपैयाँ कारोबार यस प्रक्रियामा सहभागी थिए ।
विभागले बम्पर उपहारका अतिरिक्त असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक/एक गरी कुल १६ जना दैनिक विजेतालाई जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टीपछि खुद एक लाख रुपैयाँ) समेत घोषणा गरेको छ ।
“विजेता बन्नुहुने सबैले आफूले सामान खरिद गर्दा प्राप्त गरेको बिलसहित कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार दाबी गर्नुपर्नेछ,” भुसालले भने ।
तामाङलगायत सम्पूर्ण विजेताले दसैँ बिदा सकिएपछि कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर रकम दाबी गर्नुपर्ने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया