विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

लोकपथ
483
Shares

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले संवैधानिक सर्वोच्चता, विधिको शासन र नागरिकका मौलिक अधिकारको संरक्षणप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताएकी छन् ।

७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका र मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्दै न्यायपूर्ण समाज निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।

उनले वर्तमान परिस्थितिमा कुनै विचलन बिना विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्ण कार्यान्वयनमार्फत न्यायपूर्ण समाज स्थापना गर्न कानुन दिवसले सबैमा सकारात्मक सोच र भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।

प्रधानन्यायाधीश मल्लले न्यायपालिकामा हुने सुधार न्यायपालिकाको मात्र विषय नभई राज्यका सबै अङ्गहरूको साझा दायित्व भएको बताउँदै यसको सुदृढीकरणका लागि एकजुट र समन्वयात्मक प्रयास अपरिहार्य रहेको धारणा राखिन् ।

उनले न्यायपालिकाले रणनीतिक योजनामार्फत अघि बढाएका सुधारका कार्यक्रमहरूमा न्यायाधीश, सरकारी वकिल, कानुन व्यवसायी, न्यायपालिकाका कर्मचारी तथा अन्य सरोकारवाला निकायको सकारात्मक सहयोग अपेक्षित रहेको उल्लेख गरिन् ।

सन्देशमा उनले संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुसार न्याय सम्पादन हुँदै आएको उल्लेख गर्दै न्यायिक सुधारलाई संस्थागत र प्रभावकारी बनाउन विसं २०६१ सालदेखि रणनीतिक योजना कार्यान्वयन हुँदै आएको जानकारी दिइन् ।

हाल पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको क्रममा रहेको उल्लेख गर्दै उनले आर्थिक वर्ष २०८१/८२ मा योजनाका सूचकहरू उत्साहजनक देखिएको र न्यायिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइन् । ती उपलब्धिको संरक्षण, संस्थागत सुदृढीकरण र सुधार प्रक्रियालाई थप प्रभावकारी बनाउन न्यायपालिका दृढतापूर्वक प्रतिबद्ध रहेको उनको भनाइ छ ।

नेपाल प्रधान न्यायालय ऐन, २००८ विसं २००९ साल वैशाख २६ गते लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ लाई कानुन दिवसका रूपमा मनाइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?