काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’ लाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
प्रमुख महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित अवस्थामै रथारोहण गराएको, उनको नाममा सिक्का र हुलाक टिकट प्रकाशन गरेको तथा सुरक्षा र यातायातको प्रबन्ध मिलाएको स्मरण गर्दै ती कार्यहरू ज्येष्ठ नागरिक सम्मानको प्रस्थान बिन्दु भएको बताए ।
त्यसै गरी, हालै मात्र महानगरपालिकाले १०५ वर्षीया मनोमाया महर्जनको पाँचौँ ‘जङ्कु’ (रथारोहण) सम्पन्न गरेको जानकारी दिए । महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका अन्य कल्याणकारी योजनाहरूबारे प्रकाश पार्दै उनले वार्षिक १० हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिए ।
प्रमुख महर्जनले भने, ‘नेपालको इतिहासमा सायद पहिलो पटक पाँचौँ जङ्कुको व्यवस्थापन महानगरले गरेको छ । यसले हाम्रो संस्कृति र ज्येष्ठ नागरिकप्रतिको श्रद्धा झल्काउँछ । जसरी मनमोहन अधिकारीले आफ्नो कार्यकालमा १०० रुपैयाँबाट सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्नुभयो, त्यसरी नै हामीले ज्येष्ठ नागरिकलाई दसैँ–तिहार खर्चका रूपमा वार्षिक १० हजार रुपैयाँ प्रदान गर्दै आएका छौँ ।’
स्वास्थ्य क्षेत्रतर्फ महानगरले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निमोनिया विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन थालेको महर्जनले बताए । निमोनियाको खोप महँगो भए पनि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि यो अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको उनको दाबी छ ।
यसका साथै, जावलाखेलमा हुने प्रसिद्ध भोटो जात्रा अवलोकनका लागि जङ्कु गरिसकेका ज्येष्ठ नागरिकहरूलाई विशिष्ट अतिथिका रूपमा विशेष दीर्घाको व्यवस्था समेत गरिँदै आएको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया