कसरी सम्भव भयो २४ घण्टामै लाइसेन्स ?

अब २४ घण्टामै लाइसेन्स वितरण, ‘ब्याकलग’ पनि छिट्टै वितरण हुने

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाएर हैरानी खेपेका खेपिरहेका सेवाग्राहीले अब राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स पाउने भएका छन् ।

सरकारले राजश्व तिरेको २४ घण्टाभित्रै लाइसेन्सको प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था सुरु गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार नयाँ प्रणाली लागू भएपछि लाइसेन्स छपाइको काम तीव्र गतिमा अघि बढिरहेको छ । विभागले वैशाख ६ गतेदेखि ‘सिम्पल सिस्टम’ कार्यान्वयनमा ल्याएर सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाइ सुरु गरेको हो ।

लोकपथसँग कुरा गर्दै यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले अब सेवाग्राहीले राजस्व तिरेपछि प्रणालीले स्वतः विवरण तानेर सुरक्षण मुद्रण केन्द्रमा पठाउने र त्यहाँबाट २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट भएर आउने बताए ।

खतिवडाले भने, ‘नेपाल सरकारले भनेको जस्तै २४ घण्टामा लाइसेन्स आइसकेको छ । हामीले वैशाख ६ गतेबाट सिम्पल सिस्टम डेभलप गरी अगाडी बढाएका छौँ । ज–जसले लाइसेन्स पास गर्नुहन्छ उहाँहरुले पास गरेको २४ घण्टामा आउने होइन कि पास गरेपछि राजश्व तिरेको २४ घण्टामा लाइसेन्स प्रिन्ट भएर आउने गरेको छ ।’

खतिवडाले अगाडि भने, ‘लाइसेन्स पास गरेपछि राजश्व तिर्ने म्याद १८ महिनाको हुन्छ, जस अनुसार राजस्व तिरिसकेपछि हाम्रो सिस्टमले उहाँहरुले पास गरेको डेटा तान्छ, त्यो डेटा हामीले भिपिएन थ्रु सुरक्षण मुद्रण केन्द्रलाई पठाउँछौँ र केन्द्रले हामीलाई बुझाएपछि त्यो हामीबाट सम्बन्धित कार्यालयमा पठाइन्छ । यसले गर्दा लाइसेन्स २४ घण्टामा वितरण भएरहेको छ ।’

विभागका अनुसार अहिले लाइसेन्स छपाइको सम्पूर्ण जिम्मा सुरक्षण मुद्रण केन्द्रले लिएको छ । विभागसँग लाइसेन्स छाप्ने पर्याप्त क्षमता नभएकाले नयाँ व्यवस्था लागू गरिएको हो ।

इन्जिनियर खतिवडाले विभागसँग लाइसेन्स छाप्ने अधिकारसमेत नरहेको स्पष्ट पारे । उनका अनुसार कानुनी व्यवस्थाअनुसार नेपाल सरकारका सुरक्षा संवेदनशील सामग्रीहरू सुरक्षण मुद्रण केन्द्रबाटै छापिनुपर्ने व्यवस्था छ ।

उनले भने, ‘विभागसँग लाइसेन्स छाप्ने मेसिन पनि छैन र अधिकार पनि छैन । यसको सम्पूर्ण अधिकार प्रदेशसँग हुन्छ । नेपाल सरकारको लाइसेन्स लगायतका छाप्नुपर्ने सम्पूर्ण सामाग्रीहरु सुरक्षण मुद्रण केन्द्रबाटै छाप्नुपर्ने ऐनमा नै छ । यो विभागको क्षेत्रधिकारमा पनि छैन ।’

लाइसेन्स छपाईका लागि गत वर्षको जेठ ८ गते सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता भएको थियो । सम्झौतामा सुरक्षण मुद्रण केन्द्रले ६ महिनाभित्र मेसिन लगायतका सामाग्रीहरु ल्याउने र सो अवधिपछि विभागले केन्द्रलाई चाहिने डेटा उपलब्ध गराउने भन्ने कुरा उल्लेख भएको थियो । सम्झौता अनुसार नै काम हुँदै गर्दा जेनजी आन्दोलनले छपाईका कार्य केही पछाडि धकेलिएको थियो । जब छपाईको मेसिन र तयारी सकियो, त्यसपछि २०८२ कार्तिक १२ गते विभाग र केन्द्रबिच पुनः लाइसेन्स छपाईका लागि सम्झौता भएको भएको थियो ।

जतिबेला केन्द्र र विभागबिच सम्झौता भयो, त्यतिबेला २९ लाख थान लाइसेन्स छपाई गर्नुपर्ने अवस्थामा थियो ।

विभागले सम्झौता अनुसार छपाई गराएको लाइसेन्समध्ये १२ लाख थान लाइसेन्स वितरणका लागि सम्बन्धित कार्यलयमा पुराइसकेको छ र उक्त कार्यालयले लाइसेन्स वितरण गरिरहेको छ । १७ लाख थान लाइसेन्स अझै छपाई र वितरणकै क्रममा रहेको छ । सरकारले त्यसका लागि थप बजेट व्यवस्था गरिसकेको विभागको भनाइ छ ।

इन्जिनियर खतिवडाले भने, ‘यातायात विभागसँग २९ लाख लाइसेन्स ब्याकलगमा रहेको थियो, जसमध्ये १२ लाख लाइसेन्स वितरण भईसकेको छ भने १७ लाख लाइसेन्स पेन्डिङमा रहेको छ । पेन्डिङमा रहेको लाइसेन्स पनि चाँडै वितरण हुने छ ।’

नयाँ सरकार आएपछि गत वैशाख ६ गते भएको पछिल्लो सम्झौता र त्यसअघिकै सहमति अनुसार बिगत २ महिनादेखि ‘फास्ट ट्रयाक’ मा काम भइरहेको छ । यसअघि विभागले आफैँ चिपयुक्त लाइसेन्स छाप्दै आएको थियो । तर, अहिले सुरक्षण मुद्रण केन्द्रले क्युआर कोडयुक्त नयाँ लाइसेन्स छपाइ गरेर वितरण गरिरहेको छ ।

लाइसेन्स छपाईको पेन्डिङ बढ्दै गएपछि पहिले विभागले नै ब्याकलगमा रहेका २९ लाख लाइसेन्स छपाई गर्ने जिम्मेवारी दिइएको थियो । तर जेन जी आन्दोलनपछि मेसिनमा आगजनी भएपछि अहिले उक्त लाइसेन्स पनि सुरक्षण मुद्रण केन्द्रले नै छपाई गर्न थालेको छ ।

गत वैशाख १३ गते मात्रै अर्थ मन्त्रालयबाट थप १७ लाख लाइसेन्स छपाइका लागि बजेट स्वीकृत भएपछि बाँकी लाइसेन्स छपाइको प्रक्रिया पनि अघि बढाइएको छ । सम्झौतामा असार मसान्तभित्र बाँकी रहेका सम्पूर्ण लाईसेन्स प्रिन्ट गरी सम्बन्धित कार्यलयमा दिने निर्णय गरिएको छ ।

यसअघि विभागसँग रहेको एउटा मेसिनले दैनिक दुई देखि तीन हजार थान मात्रै लाइसेन्स छपाई गर्न सक्थ्यो । तर जेनजी आन्दोलनका क्रममा उक्त मेसिनमा समेत आगजनी भएपछि छपाइ प्रक्रिया अवरुद्ध भएको भएको थियो । अहिले भने सुरक्षण मुद्रण केन्द्रमार्फत ठूलो परिमाणमा छपाइ सम्भव भएको विभागको दाबी छ ।

केन्द्रले क्युर आर कोडसहितको लाइसेन्स छपाई गरी उपलब्ध गराउन थालेपछि अहिले भने लाइसेन्सको ब्याकलग हट्दै गएको छ र सेवाग्राही राजश्व बुझाएको २४ घण्टामै लाइसेन्स प्राप्त गर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?