काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एशियाको पछिल्लो अवस्था क्रमशः सामान्यीकरणतर्फ उन्मुख भइरहेको जनाएको छ । मन्त्रालयले त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्था सुरक्षित रहेको पनि स्पष्ट पारेको छ ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारीको वातावरण बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति श्रृङ्खला छिट्टै सुचारु हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार युएईको फुजेरामा भएका केही छिटपुट घटनाबाहेक समग्र सुरक्षा अवस्था सकारात्मक रहेको छ । मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्क भइरहेको उनले बताए ।
मन्त्रालयका अनुसार कन्ट्रोल रुममा हालसम्म ३२३ पटक कल, इमेल र म्यासेजमार्फत सम्पर्क भएको छ । तर पछिल्लो ४८ घण्टामा कुनै नयाँ सम्पर्क नभएको जानकारी दिँदै प्रवक्ता क्षेत्रीले यसले स्थिति सामान्य बन्दै गएको संकेत गरेको बताए ।
यस्तै, कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा हालसम्म ८७ हजार ५५१ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । पछिल्लो १५ दिनमा ३२ जनाले मात्र थप विवरण दर्ता गराएको तथ्याङ्कले नयाँ समस्या न्यून रहेको देखाएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा नियमहरूको पालना गर्न, साइबर कानून उल्लंघन हुने गतिविधिमा संलग्न नहुन तथा आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।
इरानमा रहेका ११ जना नेपालीमध्ये १० जना तेहरानमा सुरक्षित रहेको र उनीहरू दोहास्थित नेपाली नियोगको नियमित सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि स्वदेश फर्कने तयारीमा रहेका दुई जनाले समेत हाललाई टिकट रद्द गरी तेहरानमै बस्ने निर्णय गरेको जानकारी मन्त्रालयलाई प्राप्त भएको छ ।
प्रवक्ता क्षेत्रीले पश्चिम एशियामा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि मन्त्रालय निरन्तर सजग रहेको बताए ।
यस्तै, इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । इरानको वर्तमान अवस्था र कानूनी प्रक्रियाका कारण केही समय लाग्ने देखिए पनि इरानी परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
यसैबीच, पश्चिम एशियामा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित उक्त कार्यदलको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया