काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)ले विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ ।
एनआरएनले मेडिकल काउन्सिलको सो निर्णय विदेशमा रहेका नेपालीहरूको दक्षता र लगानी मुलुकको समृद्धिका लागि उपयोग गर्ने नीति विपरीत रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो ।
नेपालको समृद्धिका लागि सहकार्य गर्ने एनआरएनएको अभियानमा समेत सो निर्णयले गम्भीर ठेस पुर्याएकाले सरकारलाई सो निर्णय तत्काल फिर्ता लिन अनुरोध गरिएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले बताए ।
उनले विश्वका विभिन्न भागमा रहेर नेपालको सेवामा समर्पित भएका कुनै पनि क्षेत्रका विज्ञहरूको भावनामाथि चोट पुर्याउन काम नगर्न पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
सापकोटाले ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने काउन्सिलको निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागगत भविष्यमा मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा नकारात्मक प्रभाव पारेको बताए ।
संविधानले गैर आवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा मात्र पेसागत पहिचान खोस्नु न्यायोचित नभएको संघको ठहर छ ।
प्रवक्ता सापकोटाकारअनुसार चिकित्सा पेसा जस्तो संवेदनशील क्षेत्रमा यस्तो कठोर निर्णय लिनुअघि सम्बन्धित पक्षसँग परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अपनाउनुपर्ने थियो । तर सम्बन्धित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्वजानकारी बिना नै गरिएको लाइसेन्स खारेजीको प्रक्रियाप्रति संघले आपत्ति जनाएको छ ।
प्रवक्ता सापकोटाले भने, ‘मेडिकल काउन्सिलले विश्वका विभिन्न देशहरूबाट नेपालको चिकित्सकसँग जोडिएका उच्च र दक्ष चिकित्सकहरू जो मेडिकल काउन्सिलमा हुनुहुन्थ्यो । उहाँहरूको सेवाको विषयलाई लिएर जुन मेडिकल काउन्सिलले उहाँहरूलाई हटाएको छ । यसमा हामीलाई गैर आवासीय नेपाली संघको तर्फबाट हाम्रो एउटा समिति पनि छ । विशेष गरी विश्वका विभिन्न देशहरूमा चिकित्सक सेवासँग जोडिनु भएका जुन एक्पपर्टहरु हुनुहुन्छ । यो अत्यन्तै चिन्ताजनक र देशलाई स्किल नलेज ट्रान्सपर गर्ने जुन जुन नीति राज्यको छ । त्यो भन्दा विपरितभयो भन्ने मलाई लाग्दछ । र, संसारभर रहेका एक्सपर्टहरुलाई यस्ता खालको निर्णयहरुले राज्यले गर्ने निर्णयले निरुत्साहित गर्छ । त्यसैले हामी सरकारलाई यस्ता खालको निर्णय गर्दा संयम हुन, सम्बन्धित पक्षसँग संवाद गर्न नीतिगत रूपमा पनि यस्ता कुरालाई प्रस्ट पार्न अनुरोध गर्दछौ । यो चिकित्सक मात्रै नभएर अन्य विश्वका विभिन्न देशमा नेपालका विभिन्न विधाका एक्सपर्टहरू हुनुहुन्छ । उहाँहरू गैर आवासीय नेपाली संघमा आबद्ध हुनुहुन्छ । हाम्रो स्किल, नलेज र रिर्सोसेसहरुलाई यो देशसँग जोडन चाहन्छौ । हामी भूगोलको हिसाबले नेपाल भन्दा बाहिर भए पनि यो समृद्ध नेपाल निर्माण गर्ने अभियानमा गैर आवासीय नेपालीसँग सँगै हिँड्न तत्पर छ । यद्यपि यस्ता खालको निर्णयहरुले हामीलाई चोट पुर्याएको छ, ठेस पुर्याएको छ । म फेरि पनि सरकारसँग ३३ जना एक्सपर्ट जुन मानव सेवासँग जोडिएका विज्ञहरूलाई जो नेपालको सेवामा समर्पित हुनुहुन्थ्यो । उहाँहरूलाई हटाउने जुन निर्णय मेडिकल काउन्सिलले गरेको छ । यो निर्णय सच्याउन हामी अनुरोध गर्दछौँ ।’
एनआरएनएले विदेशमा रहेका नेपालीहरूको बारेमा निर्णय लिँदा सम्बन्धित पक्षसँग संवाद गरेर मात्रै गर्न उपयुक्त हुने राय पनि सरकारलाई दिएको छ ।
प्रवक्ता सापकोटाले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली विज्ञहरूबारे राज्यले गर्ने निर्णय उनीहरूलाई निरुत्साहित गर्ने खालको हुन नहुने पनि स्मरण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया