काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ डिसेम्बर ८ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो ।
यस वर्ष चेर्नोबिल आणविक दुर्घटनाको ४०औँ वर्षगाँठ परेको छ । सन् १९८६ मा चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि उत्पन्न रेडियोधर्मी बादल सोभियत संघका विशाल भूभागमा फैलिएको थियो, जसका प्रभाव हालका युक्रेन, बेलारुस र रुसी महासंघका विभिन्न क्षेत्रमा परेको थियो ।
दुर्घटनाका कारण ती तीन देशका करिब ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए । संयुक्त राष्ट्रसंघका अनुसार दुर्घटनापछि तीन दशकभन्दा बढी समय बितिसक्दा पनि यसको दीर्घकालीन असर कायम छ र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेका छन् ।
चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसंघ, बेलारुस, रुसी महासंघ र युक्रेनका सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना तथा विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि विकिरण जोखिम घटाउने, क्षेत्रलाई सुरक्षित बनाउने, स्वास्थ्य सेवा उपलब्ध गराउने तथा दीर्घकालीन स्वास्थ्य असरबारे अध्ययनलाई निरन्तरता दिइँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया