डिजिटल कैदमा नेपाली बाल्यकाल : के हामी स्क्रिनको दास बन्दै छौँ ?

लोकपथ
189
Shares

विश्व आज डिजिटल युगमा फड्को मारिसकेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । बरु, नेपाल डिजिटल रूपान्तरणको तीव्र गतिको यात्रामा होमिएको छ ।

सरकारी सेवादेखि घरघरमा मोबाइल, ट्याब्लेट, टिभी र ल्यापटप सामान्य भइसकेका छन् । विद्यालयदेखि सरकारी कार्यालयसम्म डिजिटल शिक्षा र सेवा प्रवेश गरिसकेको छ । तर यही प्रगतिको बीचमा एउटा मौन प्रश्न उभिएको छ –के

हाम्रो बाल्यकाल डिजिटल भित्र कैद हुँदैछ ?

डिजिटल पहुँचले शिक्षा र सूचनामा सहजता ल्याए पनि बाल्यकालमा अत्यधिक स्क्रिन प्रयोग गम्भीर सार्वजनिक मुद्दा बन्दै गएको छ । विशेष गरी कोभिड–१९ पछिका वर्षहरूमा बालबालिकाको दैनिक मोबाइल प्रयोगको समय उल्लेखनीय रूपमा बढेको छ । आजकाल नेपाली घरघरमा एउटा सामान्य दृश्य देखिन थालेको छ – बच्चा रुँदा हातमा मोबाइल, खाना खान मान्दैन भने फेरि मोबाइल ।

अभिभावक आफ्नो काममा व्यस्त, बच्चा युट्युबमा व्यस्त

यसले अभिभावकलाई तत्कालको लागि शान्ति दिए तापनि दीर्घकालीन विकराल असर देखाउँछ । यसबारे नेपालमै गरिएका अध्ययनहरूले चेतावनी सार्वजनिक गरिसकेका छन् ।

डिजिटल नेपाल बनाउँदै गर्दा बाल्यकाललाई डिजिटल कैद हुनबाट जोगाउने जिम्मेवारी पनि सँगै बोक्नुपर्छ । समस्या प्रविधि होइन, समस्या नियन्त्रणको अभाव हो ।

नेपाल मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययनका अनुसार करिब ७० प्रतिशत २ वर्षदेखि ५ वर्ष समूहका बालबालिका समस्याजनक स्क्रिन प्रयोगको दायरामा छन् । त्यसैगरी ६० प्रतिशत बालबालिका प्रत्येक दिन २ घण्टाभन्दा बढी मोबाइल वा टेलिभिजनमा बिताउँछन् । जबकि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि कुनै पनि स्क्रिन समय सुरक्षित मानिँदैन भने २–५ वर्षका लागि दैनिक १ घण्टा मात्र सुरक्षित मानिएको छ । अर्थात्, नेपालमा अधिकांश साना बालबालिका अन्तर्राष्ट्रिय मापदण्डभन्दा दोब्बरभन्दा बढी समय स्क्रिनमा बिताइरहेका छन् ।

कोभिड–१९ पछि स्थिति झन् भयावह भएको छ । भक्तपुरमा गरिएको एक अध्ययनले महामारीपछि औसत स्क्रिन समय उल्लेखनीय रूपमा बढेको देखाएको छ । चितवनमा गरिएको अर्को अध्ययन अनुसार केही बालबालिकाको दैनिक स्क्रिन प्रयोगको समय ९ घण्टासम्म पुगेको छ । यी तथ्यांक केवल संख्या मात्र होइनन् – यी भावी पुस्ताको स्वास्थ्यको गम्भीर संकेत हुन् । कल्पना गर्नुहोस्, एक बालक दिनको ९ घण्टा स्क्रिनमा हेर्दै, बाँकी समय सुत्ने र खाने गर्दा उसँग खेल्ने, कुरा गर्ने, सिर्जना गर्ने कति समय बाँकी रहन्छ ?

बालबालिकाले गुमाउँदै छन् अमूल्य पलहरु, बन्दैछन् आक्रामक

अब कल्पना गरौं, यी बच्चाले के गुमाइरहेका छन् ? बुवाका रोचक कथाहरू, आमासँगका रमाइला पलहरू, साथीहरूसँगको आत्मीयता र हाँसो, माटोसँगको जीवन्त सम्बन्ध । ती सबै अस्थायी सुखदायी तर दीर्घकालमा खोक्रो बनाउने डिजिटल स्क्रिनले विस्थापित गरिरहेका छन् । नेपालका मनोचिकित्सकहरूले गरेको अनुसन्धानले अत्यधिक स्क्रिन प्रयोगले बालबालिकामा चिडचिडापन, ध्यानको अभाव, निद्रामा समस्या र सामाजिक अन्तरक्रियामा कमी जस्ता गम्भीर असर देखाएको छ । यसले उनीहरूको व्यवहारमा प्रतिकूल प्रभाव पारेको छ । धेरै स्क्रिन हेर्ने बालबालिकामा आक्रामकता बढ्ने, सानो कुरामा रिसाउने, र एकाग्रतामा कठिनाइ हुने जस्ता समस्या देखिन थालेका छन् ।

बाल्यकाल मस्तिष्क विकासको सबैभन्दा संवेदनशील चरण हो । जीवनको पहिलो पाँच वर्षमा मस्तिष्कको ९० प्रतिशत विकास हुन्छ । यस समयमा बालबालिकाले आमाबुवासँगको अनुहर देख्ने, बोली सुन्ने, छुन र खेल्ने माध्यमबाट सिक्छन् ।

तर जब यी सबैको स्थान मोबाइलले लिन्छ, तब भाषा विकास, भावनात्मक बन्धन र सामाजिक सीपहरू कमजोर हुन थाल्छन् । अत्यधिक स्क्रिनले संवाद, खेलकुद, सिर्जनात्मक कल्पना शक्ति मा ह्रास ल्याउँछ । यदि यी सबैको स्थान मोबाइलले लिन्छ भने के हामी प्रविधिमा निर्भर तर भावनात्मक रूपमा कमजोर पुस्ता निर्माण गर्दैछौँ ?

डिजिटल नेपाल बनाउँदै गर्दा बाल्यकाललाई डिजिटल कैद हुनबाट जोगाउने जिम्मेवारी पनि सँगै बोक्नुपर्छ । समस्या प्रविधि होइन, समस्या नियन्त्रणको अभाव हो ।

अभिभावकको भूमिका यहाँ निर्णायक हुन्छ । बालबालिकाले हामीले भनेको होइन, हामीले गरेको कुरा सिक्छन् ।

अनुशासन घरबाटै सुरु हुन्छ । यदि घरभित्रै अभिभावक निरन्तर मोबाइलमा व्यस्त छन् भने बालबालिकाले पनि त्यही बानी आत्मसात गर्छन् । हामीले आफैलाई सोध्नुपर्ने प्रश्न हो – के हामी आफ्ना बच्चालाई समय दिन नसकेर मोबाइल सुम्पिएको त हैन ? प्रायः अभिभावक आफ्नो व्यस्तताको बहानामा बच्चालाई मोबाइल थमाइदिन्छन् । तर के थाहा छ, त्यो एउटा मोबाइलले तत्कालीन शान्ति दिए पनि भोलि अत्यासलाग्दो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

समाधान जटिल छैन तर प्रतिबद्धता चाहिन्छ । प्रविधि हाम्रो हातमा छ तर भोलिको उनीहरूको भविष्य हाम्रो सचेतनामा निर्भर छ । सर्वप्रथम, बालबालिकाको उमेर अनुसार दैनिक स्क्रिन समयको स्पष्ट सीमा तोक्नुपर्छ । २ वर्षभन्दा कम उमेरका बालबालिकालाई सकेसम्म स्क्रिन देखाउनु हुँदैन ।

२–५ वर्षका लागि दैनिक एक घण्टाभन्दा बढी नहुने गरी समय निर्धारण गर्नुपर्छ । दोस्रो, सुत्नुअघि कम्तीमा एक घण्टा मोबाइल, टिभी वा ट्याब्लेट बन्द गर्ने नियम बनाउनुहोस् । यसले निद्राको गुणस्तर सुधार्न मद्दत गर्छ ।

तेस्रो, शैक्षिक सामग्री मात्र होइन, बाहिरी खेल, पारिवारिक संवाद, कथा सुन्ने बानीलाई प्राथमिकता दिनुहोस् । चौथो, घरमा आफैँले पनि स्क्रिन टाइम घटाउने उदाहरण देखाउनुहोस् । यदि अभिभावक आफैँ दिनभर मोबाइलमा टाँसिन्छन् भने बच्चालाई के सन्देश जान्छ ? पाँचौं, बच्चासँग खेल्ने, हिँड्ने, कुराकानी गर्ने समय निकाल्नुहोस् ।

सांकेतिक फाइल तस्बिर

एक घण्टाको खेलकुद वा कथा सुनाइले मोबाइलको घण्टौँ प्रयोगभन्दा बाल विकासमा बढी योगदान पुर्याउँछ ।
केही अभिभावकले भन्न सक्छन् – ‘तर आधुनिक शिक्षा त डिजिटल माध्यमबाटै दिइन्छ ।’ यो सत्य हो तर शैक्षिक स्क्रिन प्रयोग र मनोरञ्जनात्मक स्क्रिन प्रयोगबीच भिन्नता छ । शैक्षिक सामग्री पनि नियन्त्रित समयमा, सीमित अवधिको लागि मात्र दिनुपर्छ । बालबालिकालाई आफैँले सिक्ने, आफैँले सोच्ने, आफैँले समस्या समाधान गर्ने अवसर दिनुपर्छ । युट्युबका अर्थहीन भिडियोले ती क्षमता विकास गर्दैनन् ।

नेपालमा अहिले बाल मनोचिकित्साको क्षेत्र विस्तार हुँदै गर्दा, यस विषयमा थप अनुसन्धान र जनचेतना आवश्यक छ ।

विद्यालयहरूले अभिभावकलाई स्क्रिन व्यवस्थापनको तालिम दिनुपर्छ । सरकारले राष्ट्रिय स्तरमा बालबालिकाको डिजिटल स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्छ । तर प्रतीक्षा नगरी हरेक अभिभावकले आफ्नै घरबाट सुधारको सुरुवात गर्न सक्छ ।

यदि आज हामी सजग भएनौं भने भोलि हामीले प्रविधिसँग खेल्ने होइन, प्रविधिकै दास बनेको निर्भर पुस्ता पाउनेछौं ।

डिजिटल नेपालको सपना हामी सबैको हो तर त्यो सपना बाल्यकालको कीमतमा पूरा हुनु हुँदैन । प्रविधि हाम्रो सहायक हो, नियन्त्रक होइन । आजको सजग अभिभावकत्वले मात्र भोलिको स्वस्थ, सन्तुलित र सिर्जनशील नेपाल निर्माण गर्न सक्छ ।

(उपप्राध्यापक रेग्मी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थयकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?