काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बजेट नपरेको भन्दै कटाक्ष गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व राज्यमन्त्री समेत रहेका सांसद तामाङ उपप्रधानमन्त्रीद्वयसँग कटाक्ष गरेका हुन् ।
तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसँग असन्तुष्ट बन्दै अर्को चुनावमा दुवै नेताहरुलाई संसदमा देख्न नपरोस् भन्दै कटाक्ष गरे ।
उनले दुवै उपप्रधानमन्त्रीहरु झिनो मतले मात्रै जितेर आएको तर आफू भने ठूलो मतान्तरसहित जितेर आएको भन्दै कटाक्ष गरे ।
‘शहरीविकासमन्त्री धेरै भोटले जितेर आएको होइन, ८० भोटले मात्रै जितेर आएको हो, झुण्डिएर । हामीजस्तो १७ हजार मतले जितेर आउनुपर्छ अनि यहाँ आएर दनक दिने हो । अर्थमन्त्रीज्यू तपाईँ कांग्रेसको फेला नपरेर हो, कांग्रेस लुते परेर हो । घण्टीले ६ सय ८३ मतले मात्रै हो, सबै रिपोर्टहरु लिएर बसेका छाँै,’ उनले कटाक्ष गर्दै भने, ‘सभामुख महोदय, म यहाँ अन्तिममा मैले शहरीविकासको कितावलाई लिएको छु । साथीहरुले यो किताबहरु च्यात्ने किताबहरु च्यात्ने काम पनि गरे । म यो जनताहरुले कर तिरेको पैसाले बनाएको किताब हो म च्यात्दिन । म बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गरेर, ढोगेर ०८४ को चुनावमा यी दुई वटै उपप्रधानमन्त्री कुनै पनि हाउसमा नआओस् भन्दै बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्दछु ।’
बजेटमा व्यवहारिकता नभएको भन्दै उनले आक्रोश व्यक्त गरे । दुवै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको भन्दै उनले आफूहरुमाथि विभेद गरिएको बताए ।
‘तपाईँहरुलाई मात्र अघाउनुपर्ने ?, तपाईँहरुले मात्रै चुनाव जित्नुपर्ने ?, तपाईँहरु मात्रै मन्त्री हुनुपर्ने ? व्यवहारिकता भन्ने कुरा तलदेखि माथिसम्म हुनुपर्दछ,’ उनले भने ।
अहिले नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा रहे पनि आफ्ना नेताहरुलाई नच्यापेको कारण नयाँ दलहरुको उदय भएको समेत टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया