एनपीएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

लोकपथ
0
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज हुने पहिलो खेल मध्याह्न १२ः३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५ः०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ ।

यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

‘प्लेअफ’ पुग्ने झिनो आशा बाँकी राख्न पोखराले आज जित्नैपर्ने दबाबमा छ । चार खेल खेल्दा जितविहीन पोखरा अहिले अङ्क तालिकाको अन्तिममा छ ।

छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको सामना गरेको छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज अहिले सानदार लयमा छ । दोस्रो स्थानमा रहेको ऊ आज पनि जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ ।

उता चितवन पनि आफ्नो अपराजित यात्रा जारी राखेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलको यस संस्करणमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?