काठमाडौं । सुरक्षा निकायमा ‘घुमुवा’ भनेको सादा पोसाकमा खटाइने प्रहरी भनेर बुझिने गरिन्छ । खासमा भन्ने हो भने गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने यसको उद्देश्य हो । तर, पछिल्ला वर्षहरूमा उनीहरुलाई प्रहरी कार्यालयहरूको नेतृत्व गरेका अधिकारीहरूले आफूअनुकूल प्रयोग गर्दा उनीहरू बदनाम बन्दै गएका छन् । उनीहरू जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय भएको पाइन्छ ।
यसको पछिल्लो उदाहरण हो लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका दुई जना प्रहरी नै पक्राउ परेको घटना । उनीहरू मात्रै होइन, यो घटनामा सशस्त्र प्रहरीको चौलिकास्थित सशस्त्र प्रहरी बल नं. ३० गणबाट खटिएका एक जना सशस्त्र प्रहरी जवान पनि पक्राउ परेका छन् । अर्थात् सशस्त्र प्रहरी र नेपाल प्रहरीका ‘घुमुवा’को मिलेमतोमा अवैध गतिविधि भइरहेको यो घटनाले पुष्टि हुन्छ ।
यी घुमुवाहरूलाई अन्य दुई जना ‘पब्लिक’सँग मिलेर एक व्यापारीसँग ५ लाख रुपैयाँ जबरजस्ती असुली गरेको आरोप लागेको छ । यही आरोपकै कारण उनीहरूसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरीबाट खटाइएका प्रहरी सहायक हबलदार मोहम्मद सफिक खान र परमानन्द कुर्मी, चौलिकास्थित सशस्त्र प्रहरी बल नं. ३० गणबाट खटिएका सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, कोहलपुर–११ निवासी मोबाइल तथा इलेकट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र आफूलाई अभियन्ता बताउने सूर्यप्रसाद रिजाल रहेका छन् ।
घटनामा संलग्न प्रहरी सहायक हबलदारहरू खान र कुर्मी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेन्द्रप्रसाद भट्ट स्वयंले घुमुवाका रूपमा बाँके र बर्दिया जिल्लामा खटाएका व्यक्ति भएको खुलेको छ । लागूऔषध नियन्त्रण ब्युरोमा दरबन्दी रहेका प्रहरीका यी दुई जना सहायक हबलदारहरूलाई डीआईजी भट्टले मौखिक रूपमा जिम्मेवारी दिएर परिचालन गरेको जनाइएको छ । सशस्त्र प्रहरी जवान चौधरीलाई भने बाँकेका गणपतिले परिचालन गरेको बुझिएको छ ।
प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कनजिकै ‘थ्रीस्टार मोबाइल पसल’ सञ्चालक लक्ष्मण कुँवरबाट ५ लाख रुपैयाँ असुली गरिएको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।
उजुरी दर्ता भएपछि प्रहरी सहायक हबलदार खान र कुर्मी, भण्डारी र रिजाललाई २८ जेठमा र सशस्त्र जवान चौधरीलाई २९ जेठमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार सादा पोसाकमा आएका ती व्यक्तिले आफूहरू ‘नार्कोनन अनुसन्धान विभाग’बाट आएको भन्दै डर देखाई व्यापारीलाई लागूऔषध मुद्दामा फसाउने धम्की दिँदै रकम असुल गरेका थिए ।
व्यापारीले रकम बुझाउने क्रममा भारतीय नम्बर प्लेट (यूपी५०एए ९८८५) को कारमा आएका ती व्यक्तिको गतिविधि सीसीटिभीमा कैद भएपछि घटना सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा स्थानीय गोविन्द भण्डारी र सूर्य रिजालले घुमुवा प्रहरीसँग मिलेमतो गरेको पुष्टि भएको छ ।
२१ जेठमा रकम असुली गरेका घुमुवा प्रहरीका विरुद्ध व्यवसायीले २८ जेठमा उजुरी दिएका थिए । पक्राउ परेका पाँचै जनाविरुद्ध ‘आपराधिक लाभ’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ । रकम बुझाउने व्यवसायीका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यता, घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरका प्रमुख तथा डीआईजी राजेन्द्रप्रसाद भट्टसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रदेश प्रहरी कार्यालयको सार्वजनिक मोबाइल नम्बर ९८५७०८४४४४ मा बारम्बार फोन सम्पर्क गरे पनि फोन उठेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया