नेपाल आज बहराइनसँग भिड्दै, पहिलो जितको खोजीमा

लोकपथ
1.5k
Shares

काठमाडौं । थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। खेल थाइल्याण्डको तेरथाइ क्रिकेट मैदानमा बिहान पौने ९ बजे शुरू हुनेछ ।

नेपालले प्रतियोगितामा यसअघि हङकङसँग खेल्ने तय भए पनि वर्षाका कारण टस समेत हुन नसकी खेल रद्द भएको थियो । दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

नेपाल र बहराइनबीच यसअघि दुईपटक भिडन्त हुँदा दुवैपटक नेपाल विजयी बनेको छ। एक खेलमा नेपालले बहराइनलाई मात्र १४ रनमा समेटेको थियो भने अर्को खेलमा ३१ रनमै अलआउट गरेको थियो।

यसपटकको एसिया छनोटमा नौ टोली सहभागी छन् -नेपाल, थाइल्याण्ड, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत। टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा रहेका तीन टोलीबीच डबल राउन्ड रोबिन आधारमा खेल हुनेछ।

समूह चरणपछि शीर्ष स्थानमा रहेका टोलीहरू सुपर ३ चरणमा प्रवेश गर्नेछन्। त्यसपछि सुपर ३ मा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।

नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँग रहेको छ। आजको खेल नेपालका लागि महत्वपूर्ण छ, ग्लोबल छनोटमा पुग्नको लागि जित आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?